एजेन्सी – युभेन्टस तथा पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सम्भवतः पछिल्ला केहि वर्षकै खराब अवस्थाबाट गुज्रिरहेका छन्। विभिन्न रिपोर्टलाई मान्ने हो भने रोनाल्डो पछिल्लो समय युभेन्टसमा सन्तुष्ट छैनन्।
हालको अवस्थामा युभेन्टस च्याम्पियन्स लिगका लागि क्वालिफाई हुने सम्भावना कम देखिन्छ। यस कारण पनि रोनाल्डो युभेन्टसमा असन्तुष्ट छन्। त्यति मात्र नभई युभेन्टस १० वर्षमा पहिलो पटक सिरी ‘ए’ च्याम्पियन बन्नबाट बिमुख भएको अवस्थाले पनि रोनाल्डो र युभेन्टस बीचको सम्बन्ध बिग्रिएको रिपोर्टहरू आएका छन्।
एक स्पेनिस पत्रिकाका अनुसार रोनाल्डो यति बेला रियल म्याड्रिडको बसाई धेरै नै ‘मिस’ गरिरहेका छन्। युभेन्टसमा उनी माथि भएको पछिल्लो व्यवहारले उनलाई रियल म्याड्रिड याद दिलाएको छ।
रोनाल्डो आफ्ना पूराना साथी,म्याड्रिड शहर र क्लबका अधिकारीहरु ‘मिस’ गरिरहेको उक्त पत्रिका दावी गर्छ। त्यति मात्र नभई रोनाल्डो युभेन्टस छाड्ने उत्तरार्धमा रहेको पनि उक्त पत्रिका दावी गर्छ। रोनाल्डोले रियल म्याड्रिड फर्किन चाहेको भएपनि त्यो असम्भव रहेको बताइन्छ।
गोल खडेरी
रोनाल्डोले गएका ४ खेलमा गोल गर्न सकेका छैनन्। उनले पछिल्लो पटक नापोली विरुद्ध गोल गरेका थिए। त्यसयता रोनाल्डोले गोल गरेका छैनन्। यो रोनाल्डो इटाली गएपश्चातकै लामो गोल खडेरी हो।