रोनाल्डोले गरे युभेन्टसको उद्धार, च्याम्पियन्स लिगका लागि क्वालिफाई हुने सम्भावना जीवितै !

एजेन्सी – एक गोलले पछि परेको अवस्थामा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डाले दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा उडिनेसमाथि २–१ को पूनरागमन जित निकालेको छ ।

घरेलु टोली उडिनेसका नाहुएल मोलिनाको गोल सान्त्वना बन्यो । रोनाल्डोले दोस्रो हाफको अन्त्यतिर सात मिनेटको अन्तरमा दुई गोल गर्दै युभेन्टसलाई महत्वपुर्ण ३ अंक दिलाएका हुन् । लगातार ९ सिजनको च्याम्पियन युभेन्टसले यस सिजनको सिरी ‘ए’ को उपाधि गुमाउँदा शीर्ष चारमा पर्न संघर्ष गरिरहेको छ ।

झन्डै एक दशकको युभेन्टसको अधिपत्य तोड्दै इन्टर मिलान ११ वर्षपछि इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको छ । एटलान्टाले सस्सुलोसँग १–१ गोलको बराबरी खेलेपछि इन्टर मिलान सिरी ‘ए’ को चार खेल बाँकी रहँदै च्याम्पियन बन्न सफल भएको हो ।

डासिया एरिना उडिनमा आइतबार राति भएको खेलको १०औं मिनेटमा नाहुएल मोलिनाको गोलकाट उडिनेसले अग्रता लिएको थियो । उनले रोड्रिगो डि पलको पासमा गोल गरेका थिए । तर, उडिनेसले उक्त अग्रतालाई जोगाउन सकेन ।

८३औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए । रोनाल्डोको फ्रिकिकलाई पेनाल्टी बक्समा रोड्रिगो डि पलले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रोनाल्डो चुकेनन् । ८९औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को पूनरागमन जित दिलाए । उनले एड्रिएन राविओटको पासमा गोल गरेका थिए ।

यो जितसँगै युभेन्टसको शीर्ष चारमा पर्ने सम्भावना जीवितै रहेको छ । युभेन्टस ३४ खेलबाट ६९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान ६९ अंक रहेपनि गोल अन्तरमा युभेन्टस एटलान्टाभन्दा पछि र एसी मिलान भन्दा अघि छ । पराजित उडिनेस ३९ अंक जोडेर ११औं स्थानमा छ ।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८०९:१८

पछि परेको अवस्थामा मेस्सी र ग्रिजमन मिलेर पासा पल्टाए, बार्सिलोनाको पूनरागमन जित !