काठमाडौँ – भ्रष्टाचारको आरोप लागेका एक पूर्वकर्मचारी झुन्डिएको अवस्थामा फेला परेका छन्।
त्रियुगा नगरपालिका-१० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चाय झुन्डिएको अवस्थामा फेला परेका हुन्। मालपोत कार्यालय कलंकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि आचार्यले आफ्नै ज्यान लिएको हुन सक्ने अनुमान गरिएको छ।
आचार्य पूर्वगाविस सचिव, जिल्ला अस्पताल उदयपुर, जिल्ला जनस्वास्थ्य कार्यालय झापा, मालपोत कार्यालय काठमाडौं कलंकी पछि कर्मचारी समायोजनका क्रममा उदयपुरको त्रियुगा नगरपालिका पुगेका थिए।
मालपोत कार्यालय कलंकीमा रहँदा उनीसहित सातजनालाई सामुदायिक वनको जग्गा गैरकानुनी रूपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पूर्जासमेत उपलब्ध गराएको आरोप लागेको थियो।
गत जेठ १३ गते अख्तियार दुरूपयोग अनुसन्धान अयोगले सामुदायिक वनको जंगल व्यक्तिका नाममा नामसारी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो।
अधिकृत शिवप्रसाद रिमाल, नायव सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङ्ग कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनी मिनाकुमारी थापाको वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेल विरुद्ध अख्तियारले मुद्दा दायर गरको थियो।