मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई वर्खास्त गरेको केहि घण्टामा नै युभेन्टसले पूर्व प्रशिक्षक मास्सीमिलियानो एलेग्रीलाई पुन: प्रशिक्षकको रूपमा घोषणा गरेको थियो। लगातार ५ पटक सेरी-ए जिताएका एलेग्रीले २०१९ मा ओल्ड लेडी छाडेका थिए। जसपछि माउरिसियो सारी र आन्द्रे पिर्लो केवल एक-एक सिजनका लागि मात्र क्लबको प्रशिक्षकको भूमिकामा रहे।

एलेग्रीले युभेन्टस छाड्नुको मुख्य कारण क्लबका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रहेको बताइन्छ। २०१९ मा एलेग्री युभेन्टसमा ट्रानजिसन चाहन्थे। जसको लागि उनले क्लबका अध्यक्ष एन्ड्रेया एन्गेलीलाई रोनाल्डोलाई बेच्न समेत आग्रह गरेको गाजेटा डेल्लो सपोर्टले बताएको थियो। तर क्लबसँग अनुबन्ध भएको एकै सिजनमा क्लबका अध्यक्ष रोनाल्डोलाई बेच्ने पक्षमा थिएनन्।

स्वयम् एन्गेलीले यो बताएका थिए कि रोनाल्डोलाई अनुबन्ध गर्नुको पछाडी केवल खेल पक्ष मात्र नभएर आर्थिक पक्ष पनि संलग्न रहेको थियो। जसको कारण अन्ततः मुख्य प्रशिक्षक मास्सीमिलियानो एलेग्रीलाई क्लब छाड्न बाध्य तुल्याइयो। अब क्लबमा फेरी उनको पुनरागमन भएको छ।

एलेग्रीको आगमन डिबाला र जर्जियो कियेलिनीको लागि निकै खुसीको खबर हुनसक्छ। पिर्लो र सारीको पहिलो रोजाईमा पर्न नसकेका यी खेलाडी एलेग्रीको पुनरागमनले क्लबमा धेरै अवसर प्राप्त गर्ने बुझिएको छ। केहि रिपोर्टका अनुसार त एलेग्रीले युभे बोर्डलाई डिबालाको सम्झौता नवीकरण गर्नको लागि आग्रह समेत गरिसकेका छन्।

तर धेरैले नवनियुक्त प्रशिक्षकका साथै यसलाई रोनाल्डोको बिदाइको रूपमा पनि हेरेका छन्। विगतको समयमा खुल्ला रूपमा यी दुईले एक-अर्काको बारेमा आलोचना नगरेको भएपनि रोनाल्डो र एलेग्री बीचको सम्बन्ध राम्रो नभएको सबैलाई थाहा नै छ। रोनाल्डोलाई एलेग्रीको रक्षात्मक् शैलीको खेल मन नपर्ने पनि बताइएको थियो।

तुलनात्मक रूपमा हेर्ने हो भने पनि रोनाल्डोले एलेग्रीको प्रशिक्षणमा २१ सेरी-ए गोल गरेका थिए भने आक्रामक अन्दाजका सारी र पिर्लोको प्रशिक्षणमा क्रमशः ३१ र २९ गोल गर्न सफल भए। जसको कारण नयाँ प्रशिक्षकको आगमनले क्लबका फ्यान्स जस्तो रोनाल्डो खुसी नहुन पनि सक्छन्।

यसअघि नै ५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डोले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले इटाली छाड्ने सङ्केत पनि दिएका थिए। इटालीमा आफू आउनुको मुख्य उदेश्य तथा लक्ष्य पूरा भएको उनले उक्त पोस्टमा उल्लेख गरेका थिए। त्यस्तै, केहि रिपोर्टका अनुसार रोनाल्डोले टुरिनमा रहेको आफ्नो घरबाट आफ्ना गाडीहरु समेत हटाइसकेको बताइन्छ। यस्तोमा, ३६ वर्षीय पोर्चुगिज कप्तानले क्लब छाड्ने हुन् वा हैनन् त समयले नै बताउनेछ। के एलेग्रीको आगमनले रोनाल्डोको बिदाइको सङ्केत गरेको हो त ?

