सकियो गोट (ग्रेटेस्ट अफ अल टाइम) विवाद ? अन्तराष्ट्रिय उपाधि छैन भन्नेको मुख पनि बन्द !

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अन्तत: आफ्नो करियरमा अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन्। आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिलको माराकाना स्टेडियममा भएको खेलमा घरेलु टोली ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि हात पार्न सफल भयो।

खेलको २२ औं मिनेटमा एन्गल डी मारियाले गरेको गोल नै मेस्सीलाई पहिलो अन्तराष्ट्रिय उपाधि दिलाउन काफी रह्यो। अर्जेन्टिनी मिडफिल्डर रोड्रीगो डी पलले डी मारियाको दिशामा दिएको लामो पासलाई रोक्न ब्राजिलका डिफेन्डर रेडन लोडी असफल भएपछि उक्त गल्तीको सदुपयोग गर्दै पीएसजी विंगरले सुन्दर गोल गरे। यसअघि ४ फाइनलमा पराजित भएका लियोनल मेस्सी पाचौं पटक भने भाग्यमानी साबित भए। मेस्सी स्वयम् ले खेलको अन्तिम समयमा गोल गर्ने निकै सुन्दर मौका पाएका थिए। तर उक्त मौकालाई उनले सदुपयोग भने गर्न सकेनन्।

विजेता बनेको अर्जेन्टिनी टोलीका कप्तान समेत रहेका ३४ वर्षीय स्ट्राइकरले प्रतियोगिताका उत्कृष्ट खेलाडीको अवार्डका साथै उच्च गोलकर्ताको अवार्ड पनि हात पारे। यसका साथै सामाजिक सञ्जालमा सबैभन्दा ट्रेन्डिङ विषय नै मेस्सीको पहिलो अन्तराष्ट्रिय उपाधि बनेको छ। फुटबल जगतका थुप्रै फुटबल प्रमीले अब गोट (ग्रेटेस्ट अफ अल टाइम) को विवाद पनि सकिएको बताउन थालेका छन्। यसअघि सम्म गोट विवादमा ६ पटकका ब्यालुन डी ओर विजेताले अन्तराष्ट्रिय उपाधि नजितेको भन्दै आइएको थियो।

के लियोनल मेस्सीलाई अब गोट भन्न मिल्ला त ? आधुनिक फुटबल जगतमा मेस्सी र रोनाल्डो बीच को उत्कृष्ट मात्र नभएर यी दुई मध्ये कुन खेलाडी फुटबल इतिहासकै सर्वोत्कृष्ट भन्ने पनि गरिन्छ। साथै ब्राजिलियन दिग्गज पेले, अर्जेन्टिनी लेजेण्ड म्याराडोना पनि यस विवादमा रहने गर्छन्।

प्रकाशित : आइतबार, असार २७, २०७८१२:३६

युरोकप २०२० को फाइनल आज राति हुँदै, कसले जित्ला त उपाधि ? तपाईंको समर्थन कसलाई ?