बार्सिलोनामा फिर्ता हुने मेस्सीको प्रतिवद्धता !

एजेन्सी – लियोनेल मेस्सीले आफू पुनः बार्सिलोनासँग आवद्ध हुने प्रतिवद्धता व्यक्त गरेका छन्। आइतबार बार्सिलोना र क्लबका समर्थकसँग औपचारिक रुपमा बिदा लिनेक्रममा मेस्सीले आफू पुनः बार्सिलोनासँग आवद्ध हुने प्रतिवद्धता व्यक्त गरेका हुन्। निकट भविष्यमा आफू कुनै न कुनै भूमिकामा बार्सिलोनामा फर्किने मेस्सीको प्रतिवद्धता छ।

क्याम्प नोउमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा मेस्सीले नचाहँदा-नचाहँदै बार्सिलोना छाड्नुपर्ने अवस्था आएको बताए। मेस्सीका अनुसार उनी कुनै पनि हालतमा बार्सिलोना छाड्ने पक्षमा थिएनन्। गत सिजनमा आफूले बार्सिलोना छाड्न चाहँदा छोड्न नपाएको भएपनि यस पटक भने आफू बार्सिलोनामै रहने पक्षमा रहेको मेस्सीको भनाई थियो।

आफूले बार्सिलोनाबाट बिदा हुने कहिल्यै नसोचेका कारण राम्रोसँग बिदाई माग्न नआएको पनि मेस्सीले बताए। किशोर अवस्थामा आवद्ध भएको क्लब छाड्नुपर्दा आफू धेरै दुखि भएको मेस्सीको भनाई छ।

साथै मेस्सीले कोरोना महामारीका कारण आफूले क्याम्प नोउमा दर्शक माझ बिदाई माग्न नपाएको प्रति भने दुख व्यक्त गरे। उनले भने,”गएको डेढ वर्ष देखि दर्शक बिना खेल्नु परिरहेको छ। तर म राम्रोसँग बिदाई माग्न चाहन्थें।”

“एक दिन म फिर्ता आउँछु भन्ने आशा गरेको छु। म मेरो बच्चाहरुलाई वचन दिन्छु कि म यो क्लबको उत्कृष्टताको लागि केहि न केहि सहयोग गर्ने छु।”,मेस्सीले थप भने।

प्रकाशित : आइतबार, साउन २४, २०७८१६:१५

“ज्यानले दिएसम्म फुटबल खेल्छु”