एजेन्सी – समर ट्रान्सफर विन्डो बन्द हुने केहि हप्ता मात्र बाँकी रहेको अवस्थामा पनि फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको भविष्य अझै अन्योलमा छ। एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी)मा सम्झौता थप नगर्ने स्पष्ट पारिसकेका छन्। तर पिएसजीले भने उनलाई बिक्री गर्ने कुनै पनि योजना बनाएको छैन। उनको भविष्य के होला भन्ने अहिले सम्म पनि टुंगो लाग्न सकेको छैन।
अर्जेन्टिनी स्टार लियोनेल मेस्सी क्लबमा आएपछि पनि पेरिस सेन्ट जर्मेन(पिएसजी)ले एम्बाप्पेलाई नै केन्द्रमा राखेर रणनीति बनाइरहेको छ। पिएसजीको योजनाको केन्द्रमा रहँदा समेत एम्बाप्पे सन्तुष्ट हुन नसकिरहेको बताइन्छ।
रियलको चासो
एम्बाप्पेलाई रियलले प्राथमिकतामा राखेको करिब दुई वर्ष भैसक्यो। रियलले एम्बाप्पेलाई भित्र्याउन गएको समयमा विभिन्न प्रयासहरु गरिसकेको छ। रियलले गरेका सबै प्रस्ताव पिएसजीले अस्विकार गर्दै आएको छ।
एम्बाप्पेलाई भित्र्याउन रियलले गएको वर्ष देखि नै आफूलाई आर्थिक रुपमा तयार पार्दै आएको थियो। गएको सिजन देखि रियलले खेलाडीमा खासै खर्च गरेको छैन। स्पेनिस मिडिया एसका अनुसार एम्बाप्पेलाई रियलले १ सय ५० मिलियन युरो सम्म तिर्ने अवस्था बन्दै छ। हाल रियलसँग खेलाडी किन्न भनेर राखेर १ सय २२ मिलियन युरो रहेको एसको दावी छ।
पछिल्लो समय मार्टिन ओडेगार्डलाई आर्सनलले ५० मिलियन युरोमा किन्न सक्ने चर्चा चलेको छ। यदि त्यस्तो भएको खण्डमा एम्बाप्पेका लागि रियल १ सय ५० मिलियन युरो भन्दा बढी खर्च गर्न सक्ने अवस्थामा हुनेछ।