गर्मीको मौसममा स्वास्थ्यसम्बन्धी विविध समस्या आउन नदिनका लागि खानपानमा बिशेष सावधानी अपनाउनु आवश्यक छ।यस समयमा बढ्दो तापमान संगै छिट्टै नै खाना सड्ने गल्ने सम्भावना रहन्छ । त्यसैले गर्मीको समयमा सकेसम्म बासी खाना खानाबाट बच्नु पर्ने हुन्छ। चिकित्सकका अनुसार कुनै पनि खाना बनाएको ४/५ घण्टा भन्दा बढी समय पश्चात सेवन गर्नु हानिकारक छ। सलाद तथा अन्य फलफुलहरु खाने समयमा मात्र काट्नु पर्दछ। गर्मीको समयमा यदि बासी खाना तथा सलादको सेवन गरेमा स्वास्थ्य सम्बन्धी अनेक समस्या देखा पर्दछ।
फुड पोइजनिंग
गर्मीको समयमा फुड पोइजनिंग हुन सक्ने खतरा बढी मात्रामा रहन्छ । अत्यधिक तापक्रमले गर्दा खानामा विभिन्न ब्याक्टेरियाहरु सजिलै प्रवेश गर्न सक्छ। खानामा पाइने यस्ता प्रकारका ब्याक्टेरिया ५ देखि ६० डिग्री सेल्सियस तापक्रमका बिचमा बढी हुने गर्छ। गर्मीको मौसममा सामान्य तापक्रम ३२ देखि ४५ डिग्री सेल्सियसका बिचमा हुने गर्दछ,जसले ब्याक्टेरियाको मात्रा बढ्नमा अनुकुल परिस्थितिको सिर्जना गर्दछ।खाना खाए पश्चात पेट दुख्ने , उल्टी हुने आदि फुड पोइजनिंगका लक्षणहरु हुन्।
झाडापखाला
गर्मीको कारणले गर्दा झाडापखाला हुनेमा सबैभन्दा बढी बालबच्चा नै पर्ने गर्छ। यस समयमा बच्चाको पाचन प्रणाली र प्रतिरक्षा प्रणाली बयस्कको तुलनामा कमजोर हुने गर्दछ। यसकारण बासी खाना खानबाट सकेसम्म बच्नु पर्ने हुन्छ। झाडापखाला हुदा पातलो दिसा हुने , उल्टी आउने , शरीरमा पानीको मात्रामा कमि आउने जस्ता संकेतहरु देखिन्छन। बासी तथा सडेगलेका खानाको अलावा सरसफाइको कमिले गर्दा पनि झाडापखाला हुन सक्छ।
फ्रिजमा राखिएको खानाको सेवन
यदि खाएर बढी भएको खानालाई अर्को दिन खान हुन्छ भनेर फ्रिजमा राख्नु हुन्छ भने यो सरासर गलत कार्य हो। यदि यस्तो गरेको खण्डमा पेटसंग सम्बन्धित अनेक समस्याको सामना गर्नुपर्ने हुन्छ।
दुध तथा दुग्धजन्य पदार्थको प्रयोग
कतिपय मानिसहरुले दुध या दुग्धजन्य पदार्थलाई लामो समयसम्म फ्रिजमा राखेर सेवन गर्ने गर्छन। यदि स्वास्थ्यमा कुनै समस्या आउन नदिने हो भने सफा ताजा दूधलाई एकै दिनमा तताएर सेवन गर्नु आवश्यक हुन्छ।