कालिकोट । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालिकोटका कर्मचारीहरूले मनपरी गर्दै आइरहेको पाइएको छ । मंगलबार बिहान १० बजेर ३० मिनेटको अफिसिएल समयमा अफिसको टेबुलमा खुट्टा फाली यु–ट्युबमा व्यस्त रहेको फोटो सार्वजनिक भएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
टेबुलमा खुट्टा राखेर मोबाइलमा यु–ट्युब चलाइरहेको फोटो सामाजिक सञ्जालमा पोस्ट भएपछि सर्वत्र आलोचना भएको छ । अफिस समयमा यस्तो किन गर्नुभयो भनी सोध्दा नेत्र भनिने कर्मचारीले उल्टो धम्काएका छन् । उनले भने, ‘के हुन्छ खुट्टा माथि राखे । जे गर्नु छ गर्नुहोस् । समाचार बनाउनुहोस् झन् चर्चित भइन्छ । मलाइ केही छैन । जागिर जाने पनि डर छैन । करार जागिर गए पनि केही चिन्ता छैन । मलाई जबरजस्ती राखेका हुन इकाइमा मलाई रहर पनि थिएन ।’
यस विषयमा कार्यालय प्रमुख महेश देवकोटालाई जानकारी गराउँदा उनले भने, ‘गल्ती भयो अबदेखि यस्तो हुने छैन’ भन्दै माफी मागेका छन् । कालिकोट आएको दुई महिना मात्र भयो, मलाइ केही थाहा छैन । कर्मचारीको नाममा दुई जना कार्यालय सहयोगी मात्र छन् । सहयोगीलाई केही भनौँ भने उनीहरू पनि नबस्ने चिन्तामा केही भन्न सकिँदैन । कर्मचारी छैनन् । कार्यालय सहयोगी पनि एक कक्षा पढेका छैनन् । काम गर्न निकै समस्या आएको छ । रातीसम्म काम गर्नुपरेको छ । दुई जना प्रास स्थायी कर्मचारीको माग पटकपटक गर्दा पनि कोही नआइदिँदा यो समस्या आइपरेको प्रमुख देवकोटाले बताए ।
सेवाग्राहीले काम गर्नुपर्छ
कार्यालयमा रहेका तीन जना मध्ये एक जना कार्यालय प्रमुख र दुई जना कार्यालय सहयोगी छन् । सहयोगी दुई जना पनि एक कक्षा बढेका छैनन् । रसिद काट्न पनि सेवाग्राहीले कर्मचारीको काम गर्नुपर्छ । फोटो कपी गर्न निर्वाचन कार्यालय जानुपर्छ ।
सानो अफिसको फोटो कपी गर्न पनि जिल्ला निर्वाचन कार्यालयमा जानु पर्ने वाध्यता रहेको छ । फोटो कपी मेसिन खराब भएको महिनौँ दिन बितिसक्दा मेसिन मर्मत गर्न पनि नसक्दा अकै कार्यालयका काम निर्वाचन कार्यालय गएर काम गर्नु परेको छ ।