एसेन्सियो नहुँदा रियलसँग के छ विकल्प ?

एजेन्सी – रियल म्याड्रिडका स्पेनिस मिडफिल्डर मार्को एसेन्सियो घुँडाको चोटका कारण अर्को सिजन पूरै विश्राममा रहने पक्का भएको छ । प्रि सिजनको मैत्रीपूर्ण खेलमा आर्सनलविरुद्ध फुटबलमा करिअर नै सक्काउने किसिमको चोट बोकेपछि रियल समस्यामा परेको छ ।

अघिल्लो सिजन निकै समस्यामा रहेका एसेन्सियोले यस सिजन रियलको पहिलो रोजाइमा रहेर खेल्ने लगभग पक्का जस्तो थियो । उनले प्रि सिजनका खेलमा राम्रो प्रदर्शन पनि गरेका थिए । तर उनको चोटले यस सिजनमा रियलको योजना नै परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले एसेन्सियो र रियलको योजना त परिवर्तन हुने नै भयो, अन्य क्लब र खेलाडीलाई असर पर्ने देखिएको छ ।

प्रशिक्षक जिनेदिन जिदानले बेलको भविष्यलाई लिएर पनि फेरी एकपटक सोच्न सक्छन् । आर्सनलविरुद्ध बेलले मैदान प्रवेश गरेर दोस्रो हाफमा गोल पनि गरेका छन् । जिदानले यसअघि पटक पटक बेल योजनामा नरहेको बताउँदै आएका छन् । तर क्लबले अब उचित विकल्प खोज्न नसकेको र बेलका लागि पनि अन्य क्लब अगाडी नआएको खण्डमा बेल रियलमा रहने सम्भावना भने बढेको छ ।

अर्को विकल्प भने पछिल्लो समय कमै अवसर पाएर क्लब छाड्ने सम्भावना रहेका मिडफिल्डर इस्को अब क्लबमा नै रहने छन् । जिदानले एसेन्सियो नहुँदा आक्रमणलाई सहयोग गर्न इस्कोको साथ लिने प्रबल सम्भावना रहेको छ । जिदानले इस्कोलाई सधैं बेन्चमा रहेर प्रयोग गरिरहेका थिए तर अब टोलीको मागअनुसार उनले पहिलो रोजाइमा स्थान बनाउने सम्भावना छ ।

जिदानले ब्राजिलियन युवा फरवार्ड भिनिसियास जुनियरलाई आफ्नो योजनामा राखेका छैनन् । गत सिजन पनि अन्त्यतिर उनले अपेक्षित अवसर पाएका थिएनन् । यस सिजन पनि मैत्रीपूर्ण खेलमा भिनिसियास योजनामा रहेको देखिएका छैनन् । हाजार्डको आगमनले पनि उनले अवसर पाएका थिएनन् । अब एसेन्सियो नहुँदा उनी विकल्पका रुपमा अगाडी आउन सक्छन् ।

अर्को विकल्पका रुपमा हामेस रोड्रीग्वेज पनि रियलका लागि उपलब्ध छन् । बायर्नमा नबस्ने निर्णय गरेपछि उनले रियलमा फर्केका हुन् । जिदानले उनी आफ्नो योजनामा नरहेको प्रष्ट पारेका छन् तर एसेन्सियो नहुँदा उनी उचित विकल्प भने रहनेछन् ।

जिदानले युवा मिडफिल्डर ब्राहिम डियाज तथा यसै सिजन क्लब आएका ब्राजिलियन रोड्रीगो र जापानी तकेफुसा कुबो पनि योजनामा पर्न सक्छन् । मैत्रीपूर्ण खेलमा रोड्रीगो र कुबोले आकर्षक प्रस्तुति दिएपछि जिदानले उनीहरुलाई प्रयोग गर्न सक्छन् ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०४:२५

आर्सनलका खेलाडी ओजिज माथि “चोर ग्याङ्”ले बीच सडकमै चक्कु हान्न खोज्दा…[भिडियो सहित]