१२ वर्षीया आकृति बनिन अन्तर्राष्ट्रिय ब्ल्याक बेल्ट पाउने कान्छी खेलाडी

सानै उमेरदेखि कराँते खेल क्षेत्रमा लागेकी आकृति लामा रुम्बाले अन्तर्राष्ट्रिय ब्ल्याक बेल्ट प्राप्त गर्न सफल भएकी छिन् । डब्लू. के. ओ. शिन क्योकुशिन कराँतेका एसियाली प्रमुख जेबि सुजुतोको उपस्थितिमा केही महिनाअघि काठमाडौंको चाल्नाखेलमा लिइएको डान ग्रेडिङ तथा बेल्ट टेस्ट परिक्षामा आकृती लगायत देश भरिबाट नै ब्राउन बेल्ट बाधी ब्ल्याक बेल्टको तयारीमा रहेका लगभग अन्य ४० जनाले सहभागिता जनाएका थिए। त्यो कठोर परिक्षाले साच्चिकै शिन क्योकुशिनको विकास विस्तारमा नयाँ आयाम थपेको छ भने केही समयदेखि चलिआएको ब्ल्याक बेल्ट किनबेच प्रवृतिलाई थप चुनौती दिएको छ।

वास्तवमा शिन क्योकुशिनको बेल्ट तथा डान टेस्ट फलामको चिउरा चपाउनु सरह हो भन्दा पनि फरक नपर्ला। उक्त परिक्षा पश्चात् २०७६ सालको गुरु पुर्णिमा समारोहको अवसरमा नेकपाका युवा नेता सुरेन्द्र मानन्धरको प्रमुख आतिथ्यतामा तथा संघका ब्रान्चचिफ सुर्य बहादुर बुढाथोकीको सभापतित्वमा डान तथा बेल्ट टेस्टमा सफल भएका खेलाडीहरुलाई ब्ल्याक बेल्ट बितरण गरिएको थियो। सफल हुनेमा १२ वर्षकी आकृति पनि थिइन्।

 

उक्त बेल्ट बितरण समारोहमा क्योकुशिनका बलिया खेलाडी जनक बर्तौला साथै प्रकाश न्यौपाने, कृष्ण चन्द्र बानियाँ, बिनोद गुरुङ, बिनिता फुयाल, अशोक रुम्बा, अनिशा लामा, सपना ढकाल, चन्द्र बहादुर गोले, नवीन केसी, सबनम लामा लगायत संघका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो। सो कार्यक्रम प्रशिक्षक रोहित दियालीले भव्यताका साथ संचालन गरेका थिए।

संघका महासचिव तथा ब्रान्चचिफ सुर्य बहादुर बुढाथोकीले भन्नुभयो, “आकृतिले सानै उमेर देखि गरेको मिहिनेतको फल स्वरुप यो उपलब्धि हात परेको हो। १२ वर्षको उमेर मै त्यत्तिको कठोर परिक्षामा आफुलाई अब्बल सावित गराउनु राष्ट्रको लागी नै खुसीको कुरा हो।” साथै प्रशिक्षक अशोक लामा रुम्बाका अनुसार आकृति अत्यन्तै मिहिनेती, लगनशील र कर्तव्यनिष्ठ खेलाडीमा पर्छिन्। उनी कराँते खेलका साथै विभिन्न साङ्गितिक तथा मोडलिङ क्षेत्रमा पनि उत्तिकै सक्षम छिन्।

-राजिब खड्का

प्रकाशित : आइतबार, साउन १२, २०७६०८:०७

अष्ट्रेलियन डेविड जसले नेपालको सपना चकनाचुर पार्दै सिंगापुरलाई विश्वकपनजिक पुर्याए