अष्ट्रेलियन डेविड जसले नेपालको सपना चकनाचुर पार्दै सिंगापुरलाई विश्वकपनजिक पुर्याए

सिंगापुर – सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टि-२० विश्वकपको एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल अन्तिम खेलमा सिंगापुरसँग पराजित भयो । सिंगापुरको जितमा नायक बने युवा ब्याट्सम्यान टिमोथी डेविड । अष्ट्रेलियाको घरेलु क्रिकेटमा वेस्टर्न अष्ट्रेलियाबाट खेल्ने यी ब्याट्सम्यानले बिग ब्यास लिगमा पर्थ स्कोर्चरबाट खेलिसकेका छन् ।

डेविडले सिंगापुरबाट खेलेको यो नै पहिलो प्रतियोगिता हो । अघिल्लो वर्षसम्म उनी अष्ट्रेलियाकै टि-२० राष्ट्रिय टोलीमा पर्ने आशामा रहेका थिए । उनी अष्ट्रेलियाको टि-२० राष्ट्रिय टोलीको सेन्ट्रल कन्ट्रयाक्टको प्रारम्भिक सुचिमा पनि परे । यसक्रममा उनले अष्ट्रेलियाको घरेलु क्रिकेटमा निरन्तर खेलिरहे । बिग ब्यासमा पर्थ स्कोर्चर्सबाट पनि उनले नियमित खेल्न पाए ।

लगातार अष्ट्रेलियाको क्रिकेट खेलिरहेका उनलाई सिंगापुरको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव आयो । कारण उनी सिंगापुरमा जन्मिएका थिए । डेविड ८ वर्षको उमेरमा मात्र आफ्ना पितासँग अष्ट्रेलिया फर्केका थिए । सिंगापुर कार्यक्षेत्र रहेका कारण डेविडका पिताले झन्डै एक दशक सिंगापुरमा बिताए । यसक्रममा उनका पिताले पनि सिंगापुरको घरेलु क्रिकेट खेले । उनका पिता तीव्र गतिका बलर थिए । सिंगापुरमा रहँदा सामान्य क्रिकेट खेल्ने डेविडले आफ्नो क्रिकेट करिअर भने अष्ट्रेलियामा नै सुरु गरे । उनी अष्ट्रेलियाकै नागरिक हुन् तर उनको जन्मस्थान सिंगापुर भएकाले उनले यहाँबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउँछन् ।

पछिल्लो सिजन उनको प्रदर्शन राम्रो हुन नसकेपछि उनले अष्ट्रेलियाको सिनियर टोलीमा आफ्नो सम्भावना देखेनन् । यसैकारण उनी आफैंले सिंगापुर क्रिकेट संघमा सम्पर्क गर्दै राष्ट्रिय टोलीबाट खेल्ने जानकारी दिए । सिंगापुरले यसै महिना मात्र डेविडलाई प्रशिक्षणमा सामेल गराएको हो । आईसीसी टि-२० विश्वकपको एसिया क्षेत्र छनोटका लागि विशेष तयारी सुरु गरेको सिंगापुरले घरेलु मैदानमा छनोट हुने बलियो सम्भावना देखेको थियो । टिमोथी त्यसमा नायक सावित भए ।

सिंगापुर क्रिकेट संघका विकास निर्देशक अर्जुन मेननका अनुसार सिंगापुर टोलीमा डेविडजस्तो टि-२० खेलाडीको आवश्यकता थियो । ‘ हामीले डेविडजस्ता ब्याट्सम्यान हाम्रो टोलीमा खोजेका थियौं । टोलीमा युवा र अनुभवी दुवै खेलाडी रहेको अवस्थामा ब्याटिङमा हामीले नियन्त्रण गर्ने खेलाडी पायौं । उनलाई यसअघि खेल्न आग्रह गर्दा उनले अष्ट्रेलियामा भविष्य खोज्ने निर्णय लिए । उनी टोलीमा आएपछि हामी अर्को स्तरमा पुगेको महसुस भएको छ,’ मेननले भने ।

डेविडले प्रतियोगितामा सिंगापुरले खेलेका ३ खेलमा १ सय २९ रन जोडे । उनी उत्कृष्ट ब्याट्सम्यान पनि घोषित भए । नेपालविरुद्ध महत्त्वपूर्ण खेलमा ४३ बलको सामना गर्दै ७७ रन जोडेका डेविड म्यान अफ द म्याच पनि भए । उनले यसक्रममा ८ चौका र ३ छक्का प्रहार गरे । उनले प्रहार गरेका दुई छक्का त मैदानबाहिर सडकसम्म पुगेको थियो । उनले यसअघि कतारविरुद्ध ३८ तथा मलेसियाविरुद्ध १४ रन जोडेका थिए । कतारविरुद्ध क्याच आउट भएका उनी मलेसियाविरुद्ध भने रनआउट हुन पुगेका थिए ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१३:०६

किन सिंगापुरसँग हार्यो नेपाल ? यस्ता छन् ३ कारण !