किन सिंगापुरसँग हार्यो नेपाल ? यस्ता छन् ३ कारण !

सिंगापुर – आईसीसी टि-२० एसिया विश्वकप छनोटको अन्तिम खेलमा घरेलु टोली सिंगापुरसँग पराजित भएसँगै नेपालको आगमी वर्ष अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

सिंगापुरसँग ८२ रनले पराजित हुँदा नेपाल आगमी अक्टोबरमा हुने ग्लोबल छनोटमा पुग्नबाट बञ्चित बनेको हो । पहिला टस जितेर ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । जुन टी २० आईमा नेपालले पाएको सर्वाधिक उच्च योगफलमा पर्दछ । १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । नेपालका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको यी ३ गल्ती जसका कारण फराकिलो हारसँगै आगमी वर्ष अष्ट्रेलिया हुने टी २० विश्वकप खेल्ने अवसर गुमाउनु पर्यो ।

३.आत्मविश्वासी सटको कमी

विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवात देखीनै ठूला सट प्रहार गर्नुपर्ने दबाब थियो । नेपालको सुरुवाती दुई ओभरको प्रदर्शन हेर्दा सफल हुने देखिएको थियो । मैदानको बाउन्ड्री सानो हुँदा नेपालले लक्ष्य पुरा गर्न सक्छ की भन्ने आशा गरिएको थियो । तर कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर आत्माविश्वासी सट खेल्न सकेनन् ।

नेपालका ७ ब्याट्सम्यान ठूला सट प्रहार गर्ने धुनमा क्याच आउट हुन पुगे । दबाबमा गलत सट खेल्दै आउट हुनु नेपालको लागि हारको कारण बन्य पुग्यो । आत्माविश्वासीका साथ ठूला सट खेल्न सकेको भए छोटो मैदानमा नेपालले पाएको लक्ष्य पुरा गर्न कठिन देखिदैन थियो ।

२. मध्यक्रमको खराब प्रर्दशन

नेपालको आजको हारको अर्को कारण मध्यक्रमको ब्याट्सम्यानको खराब प्रर्दशन हो । कतारसँग पनि यहि समस्याको कारण हानु परेको थियो । ओपनिङ सुधार गर्न कप्तान पारस खड्का ओपनर रुपमा मैदान उत्रँदा नेपालको मध्यक्रम पछिल्लो समय कमजोर बनि रहेको छ । आज पनि त्यहि समस्या घातक बन्यो ।

नेपाललाई कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि २७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । चौथो ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा पारस क्याच आउट हुन पुगे । सातौं ओभरमा ज्ञानेन्द्र ३९ रनमा आउट भएपछि नेपालको जिम्मेवारी मध्यक्रमका ब्याट्सम्यानमाथि थपिएको थियो । तर मध्यक्रमका ब्याट्सम्यानले ठूलो साझेदारी गर्नुपर्ने आवश्यकता बनेको थियो । तर कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर रन जोड्न सकेनन् । सबै ठूलो सटको धुनमा क्याच आउट हुँदै नेपाललाई निराश बनाए ।

शरद ७, दीपेन्द्र २३, रोहित ५, विनोद ९, करण शून्य र सोमपाल कामी ११ रनमा आउट भएपछि नेपालको विश्वकप खेल्ने सपना सकिएको थियो । ज्ञानेन्द्र र पारसले ५१ रन बनाउदा मध्यक्रमका ६ ब्याट्सम्यानले ५५ रन मात्रै बनाउन सके । सुरुवाती लयलाई मध्यक्रमका ब्याट्सम्यानले निरन्तरता दिएको भए नेपालले उक्त लक्ष्य पुरा गर्न सक्थ्यो । आजको हारको अर्को कारण मध्यक्रमका ब्याट्सम्यानको खराब ब्याटिङ हो ।

१. स्पिनरको खराब प्रर्दशन

नेपालले आजको खेलमा वसन्त रेग्मी र सन्दीप लामिछानेलाई प्रमुख स्पिनरको रुपमा मैदान उतारेको थियो । सिंगापुरले सुरुवाती ४ ओभरमा १ विकेट गुमाउँदै २० रन मात्रै जोडेको थियो । पाँचौ ओभरमा सन्दीपले १४ रन खर्चिएपछि सिंगापुरको रनको गतिलाई रोक्न कठिन पर्यो ।

बलियो मानिएको नेपाली स्पिनरमाथि खुलेर खेल्दै सिंगापुरका ब्याट्सम्यानले रनको पहाड बनाए । वसन्तले ४ ओभरमा ५३ रन खर्चिए । सन्दीपले ३ ओभरमा ३४ रन खर्चिदा पार्टटाईम बलर शरद भेषावकरले पनि ३ ओभरमा २५ रन खर्चिन पुगे । नेपालका तीन स्पिनरले कुल १ सय १३ रन खर्चिएका छन् । तीनै स्पिनर विकेट विहिन बने ।

उता तीन तीव्र गतिका बलरले १० ओभरमा ७६ रन खर्चेर ६ विकेट लिएका थिए । स्पिनरले १० ओभरमा १ सय १३ रन खर्चिदा विकेट लिन नसक्नु नेपालको हारको प्रमुख कारण बन्यो । तीन स्पिनरले विकेट लिन सकेको भए रनको गति रोकिने हुँदा ब्याट्सम्यानलाई दबाब पनि कम हुने थियो । नतिजा नेपालको पक्ष्यमा आउन सक्थ्यो । स्पिनरले खराब प्रर्दशन गर्दा सिंगापुर विशाल योगफल तयार पार्न सफल भयो । जसको कारण नेपाली ब्याट्सम्यान दबाबमा परेका थिए । दबाबमा राम्रो गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो । नेपालको हारको प्रमुख कारण स्पिनरको खराब प्रर्दशन रह्यो ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१४:११

जापानमा आयोजित किक बक्सिङ्गमा नेपाली ‘हिमालयन चितुवा’ बिजयी !