पौडेलको घरमा जुवा खेलिरहेका १० जना पक्राउ, छतबाट खसेर गयो एकको ज्यान!

सांकेतिक तस्विर

जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिका–५ बाट प्रहरीले जुवा खेल्दै गरेका दश जनालाई पक्राउ गरेको हो ।

गैँडाकोट–५, वैकुण्ठ टोलस्थित चुडामणि पौडेलको घरमा जुवा खेलिरहेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । प्रहरीले गैँडाकोट घर भएका ३५ वर्षीय लक्ष्मीकान्त पौडेल, ५० वर्षीय चुडामणि पौडेल, ३८ वर्षीय लोकनाथ शर्मा, २६ वर्षीय शालिकराम पौडेल, ४३ वर्षीय देवेन्द्र चालिसे, ३० वर्षीय हरिप्रसाद तिवारी, ४२ वर्षीय शिवहरि ढकाल, बाग्लुङ घर भएका ४३ वर्षीय केशव सुवेदी, ४९ वर्षीय डोलराज शर्मा र ५८ वर्षीय गोकर्ण आचार्यलाई पक्राउ गरेको हो । प्रहरी जुवाको खालबाट रु ८० हजार ९३५ समेत बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को १२५ अनुसार जुवासम्बन्धी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । पहिलो पटक जुवा खेल्नेलाई तीन महिना कैद वा रु तीस हजार जरिवाना र दोस्रो पटक खेल्नेलाई एक वर्ष कैद वा रु पचास हजार जरिवाना हुन सक्ने उहाँले बताउनुभयो ।

छत बाट खसेर गयो  ज्यान

नवलपरासी पूर्व कावासोतीमा घरको छतबाट खसेर एक वृद्धको निधन भएको छ । कावासोती नगरपालिका–३, घर भएका १०४ वर्षीय वृद्ध बोधीलाल रेग्मीको आज बिहान घरको छतबाट खसेर निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । घरको तेस्रो तलाबाट खसेर उहाँको ज्यान गएको हो ।

कपडा बरामद

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले भन्सार छलेर ल्याइएका कपडा बरामद गरेको छ । प्रहरीले भारतबाट भन्सार छली ल्याइएका ९६ थान कुर्ता र १८ थान रङ्गीन सल बरामद गरेको हो । धनगढीबाट काठमाडौँका लागि छुटेको बसबाट प्रहरीले सो कपडा बरामद गरेको हो । कपडा ल्याउने व्यक्ति भने पहिचान नभएको प्रहरीले जनाएको छ । बरामद गरिएका कपडा भन्सार चलान गरिने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रकाशित : सोमबार, साउन १३, २०७६०७:३७

बैठक सुरु भएलगत्तै रोष्टममा पुगे कांग्रेस र राजपा सांसद …