काठमाडौँ : गृहमन्त्री राम बहादुर थापा “बादल” ले कन्चनपुरकी तेह्र वर्षीय बालिका निर्मला पन्त प्रकरणको सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन् ।
सोमबार बसेको संसदको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिको बैठकमा गृहमन्त्री बादलले निर्मला प्रकरणमा यसअघि प्रयोग भएका विभिन्न सुत्रले फेल खाएपछि प्रहरीले नँया सुत्र मार्फत अनुसन्धान गरिरहेको जानकारी गराएका हुन् ।
उनले घटना लगत्तै पक्राउ परेका स्थानीय दिलिपसिंह बिष्टको नाम फेरी जोडिएको प्रसंङ कोट्याउदै उसको बयानले त्यस कुराको पुष्टी गरेपनि पर्याप्त प्रमाण फेला पार्न नसकिएको स्वीकार गरे।
‘निर्मला प्रकरणमा सबैले दिलीपसिंह विष्ट नै होकि भनिरहेका छन्,’ गृहमन्त्री थापाले भने, ‘उसको बयानले पनि त्यही देखाउँछ। तर अनुसन्धान चलिरहेको छ।’
उनले कुनैपनि उच्च ओहोदाको व्यक्ति जोगाउन खोजिएको भन्ने कुरामा विश्वास नगर्न समेत आग्रह गरेका थिए। ‘धेरैलाई हाई प्रोफाइललाई जोगाउन हो कि भन्ने परेको छ’, थापाले भने, ‘तर त्यो होइन। अहिले पनि अनुसन्धान चलिरहेकाले निचोडमा पुगिहाल्नु हुँदैन।’
कञ्चनपुरको भिमदत्त नगरपालिका २ की निर्मलाको गत साउन १० गते करणीपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।