काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बुधबार प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारलाई अवलम्बन गर्नका लागि सूत्र नै बनाऊँ, मातहतको नजरमा नगिरौँ । मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ ।”
प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई कामलाई तीव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्देश्य आत्मसात् गर्न पनि निर्देशन दिएका छन्।
“हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन शुरु गर्यौँ भने साउनको शुरुबाटै काम गर्न सकिन्छ भन्ने सोचले हो”, उनले भने, “तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने गर्यो भने फेरि ठेक्का लाग्दा नलाग्दै पानी पर्ने बेला हुन्छ । अब त्यस्तो हुनु हुँदैन । समय खेर फाल्नु भएन ।”
प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरुबीच कार्ययोजना कार्यान्वयन सम्झौता भएकाले अब कामले तीव्रता पाउने विश्वास व्यक्त गरेका छन् । “मेरो र मन्त्रीजीहरुको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ । अब मन्त्रीजी र सचिवहरुबीच पनि सम्झौता भएर कामको गतिले तीव्रता लिने विश्वास लिएको छु”, प्रधानमन्त्री ओलीले भने ।