इतिहासमै पहिलोपटक मन्त्रीले गरे प्रधामन्त्रीसँग कार्यसम्पादन सम्झौता

काठमाडौं : मुलुकको इतिहासमै पहिलोपटक २० मन्त्रालयका विभागीय मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्यसम्पादन सम्झौता (करार) गरेका छन । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री समक्ष सबै मन्त्रीले सामूहिक रूपमा कार्यसम्पादन सम्झौता गरेका हुन् । हालसम्म प्रशासन क्षेत्रमा मात्रै अभ्यास हुँदै आएको कार्यसम्पादन सम्झौतालाई प्रधानमन्त्री ओलीले पहिलोपटक राजनीतिक तहमा लागू गरेका छन् ।

यसअघि सचिव, सहसचिव, महानिर्देशक र कार्यालय प्रमुखले मातहतका निकायसँग मात्रै कार्यसम्पादन सम्झौता गर्दै आएका थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री नभएकाले सो मन्त्रालय सँग भने कार्यसम्पादन सम्झौता गर्न बाँकी छ । मन्त्रालयमा नयाँ मन्त्रीका रूपमा बुधबार मात्रै नेकपाका युवा नेता योगेश भट्टराई नियुक्त भएका छन् । भट्टराई मन्त्री भएसँगै उनीसँग पनि केही दिनभित्रै कार्यसम्पादन सम्झौता गरिने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । यो समाचार राजधानी राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार केशवप्रसाद पाण्डेले लेखेका हुन्।

मन्त्रीहरूले आर्थिक वर्ष २०७६÷७७ को सुरुवातमै सरकारको वार्षिक नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यविभाजन नियमावलीले मन्त्रालयलाई तोकेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीसमक्ष कार्यसम्पादन सम्झौता गरेका हुन् । त्यस अवसरमा सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयको नयाँ वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यसम्पादनको आधारमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको मूल्यांकन गर्नेछन् । यसका लागि चार–चार महिनामा मन्त्रीको मूल्यांकन गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उच्चस्तरीय संयन्त्र स्थापना गरिनेछ ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६०१:५८

विप्लव समूहका पोलिटब्युरो र स्थायी कमिटी भंग