काठमाडौँ : राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानेको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो । ढकालले लाइसेन्स लिएर घरमा राखेको दुई थान बन्दुकबाट गोली चलेको हुन सक्ने प्रहरीको आशंका थियो । तर फरेन्सिक जाँचमा घरभित्र भेटिएको गोली ढकालको बन्दुकबाट नचलेको पुष्टिभएपछि प्रहरीले उनलाई छाडेको छ ।
शर्माकी छोरी बस्ने कोठामा राति साढे ९ बजेतिर झ्यालबाट गोली छिरेको थियो । प्रहरीका अनुसार गोली वेगले हानिएजस्तो देखिँदैन । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले गोली कसले हान्यो भन्नेबारे अहिलेसम्म यकिन गर्न नसकिएको बताए । उनले अनुसन्धानको प्रारम्भिक निष्कर्षलाई आधार मान्दै भने, ‘कसैलाई टार्गेट गरेर नभई झुक्किएर गोली छिरेको हुन सक्ने देखिन्छ ।’ यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।
घटनास्थलमा प्रहरीले २२ बोर बन्दुकमा प्रयोग हुने २ एमएमको गोलीको खोका बरामद गरेको थियो । प्रहरीले उक्त गोली नेपाली सेना वा सशस्त्र प्रहरीबाट चलेको हो कि भन्नेतिर पनि अनुसन्धान सोझ्याएको छ ।