मेस्सीलाई ५० हजार अमेरिकी डलर जरिवानासहित तीन महिना प्रतिबन्ध!

एजेन्सी – कोपा अमेरिका २०१९ दौरान प्रतियोगिताबारे नकारात्मक टिप्पणी गरेका कारण अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीलाई तीन महिना प्रतिबन्ध लाग्ने भएको छ । उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो ।

बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका ३२ वर्षीय मेस्सी कोपा अमेरिकाको तेसोर स्थानको खेलमा चिलीविरुद्ध रातो कार्ड खाँदै बाहिरिएका थिए । यसक्रममा उनले खेल सकिएपछि रेफ्रीको निर्णयको विरोध गर्दै ‘प्रतियोगिता ब्राजिलले जित्न मिलेमतो भएको’ भन्ने अभिव्यक्ति दिएका थिए ।

दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई ५० हजार अमेरिकी डलर जरिवानासहित ३ महिना प्रतिबन्ध गर्ने निर्णय गरेको हो । मेस्सीले एक साताभित्र महासंघमा उनको सजायविरुद्ध अपिल गर्न पाउनेछन् । यस प्रतिबन्ध कायम रहेमा मेस्सीले अर्जेन्टिनाबाट चिली, मेक्सिको र जर्मनीसँग सेप्टेम्बर र अक्टोबरमा हुने खेलहरु गुमाउनेछन् ।

अर्जेन्टिनाले सन् २०२२ को विश्वकपका लागि छनोट प्रतियोगिता मार्च २०२० देखि मात्र सुरु गर्ने हुनाले भने मेस्सीलाई केहि राहत मिलेको छ । दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई ६ महिना प्रतिबन्ध लगाउने हल्ला चलेपनि अर्जेन्टिनी फुटबल संघसँग छलफलपछि ३ महिनामा सजाय घटाएको बुझिएको छ ।

प्रकाशित : शनिबार, साउन १८, २०७६०२:५०

ब्राम्पटनसँग भिड्दै सन्दीपको टोरन्टो ! यस्तो छ सन्दिप टिममा पर्ने सम्भावना