काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो नाममा बनाउन नेता-वकिल देखि सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरु लागि परेको दावी गरेका छन्।
बौद्ध रामनगरस्थित लाखे पोखरी लोकतान्त्रिक पार्क उद्घाटन गर्ने क्रममा सरकारका उपप्रधान समेत रहेका पोखरेलले काठमाडौंमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको र त्यसमा राजनीतिक नेता, वकिल देखि सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरु लागेको आरोप लगाएका हुन्।
काठमाडौंका धेरै ठाउँमा सार्वजनिक सम्पति अतिक्रमण गर्ने, सार्वजनिक जमिन आफ्नो बनाउने नेटवर्किङ सेटिङ नै चलेको उनको दावी छ। नेटवर्किङ सेटिङमा राजनीतिक नेता, वकिल र सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरु संलग्न हुने गरेको उनले बताए।
“अहिले के देखिएको छ भने काठमाडौंका धेरै ठाउँमा सार्वजनिक सम्पति अतिक्रमण गर्ने, सार्वजनिक जमिन आफ्नो बनाउने नेटवर्किङ सेटिङ छ।”,उनले भने,”विभिन्न राजनीतिक पार्टीका मान्छे टोपी लगाएर उभिएका हुन्छन्। कालो कोट लगाउने वकिल, सञ्चार क्षेत्रमा काम गर्ने व्यक्ति र विभिन्न व्यवसाय गर्ने मान्छेहरू सेटिङमा हुन्छन्।”
यस्तै उनले सार्वजनिक जग्गा कब्जा गर्ने व्यक्ति जुन सुकै पार्टीको भए पनि अपराधि हुने उनले बताए। जुन सुकै पार्टीको व्यक्ति भए पनि सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारवाही गर्नु पर्ने उनले स्पष्ट पारे।
“जुनसुकै प्लेटफर्मबाट आएका मान्छे भए पनि सार्वजनिक सम्पति कब्जा गर्ने, खोस्न चाहने र खान चाहनेहरू सामाजिक अपराधि हुन्।”,उनले भने,” पार्टी आफ्ना-आफ्ना होलान् सामाजिक अपराधकाविरुद्धमा हामी एक हुनुपर्छ”

