सरिताले कति सोच्ने ? सोच्दासोच्दै पन्ध्र दिन बितिसक्यो । सोचेको सोच्यै छे ।
पहिले रोई ऊ । दिनभरी रोई, रातभरी रोई । भोकै रोई, प्यासै रोई । पहिले पवनलाई सँझेर रोई । पछि आफूलाई सम्झेर रोई । आफ्नो भावी जीवन सम्झेर रोई । त्यसपछि पवनसित बिताएको जीवन सम्झेर रोई । रुँदारुँदै अरू रुन नसक्ने महसुस भएपछि सोच्न थाली । कहिले पवनलाई सोची, कहिले आफैँलाई सोची । पवन र आफ्नोबारे सोच्दासोच्दा अरू थप सोच्न नसक्ने भई । पवनविनाको जीवनबारे सोच्न चाहे पनि सक्दै सकिनँ सोच्न, के गर्नु ?
त्यसपछि सोच्न बन्द गरी । नसोचेरै शान्त रहन खोजी । पेटको बच्चा छट्पटिएजस्तो लाग्यो । तीन महिनाको बच्चो किन छट्पटिएको हो ? बेलै भएको छैन छट्पटिने ! कतै बच्चोले पनि सोच्न थालेको हो कि, ? यस्तै, सोची, सरिताले ।
आमाको मुटु छट्पटिएको हल्लनले हल्लेको हो कि तीन महिने बच्चाको मुटु ? तीन महिनामा त बच्चाको मुटु नै बनिसक्दैन ।
आमाकै धड्कनको टाइमिङ्मा चल्ने हो बच्चाको शरीरको टाइमिङ पनि । तर, आमाकै धड्कनकै, खै टाइमिङ् ? उसको आफ्नै हरेक टाइमिङ् गडबढ हुन पुगेको छ, पवनको खबर सुनेदेखि । यता उसको बच्चा छट्पटिएको छ । उता गाउँमा बच्चाको बाउ पवनको काजकिरिया पनि सकिसक्यो । पवनको मृत्यु भएको भोलिपल्टै उसले खबर भेटेकी हो ।
यताबाट हिँडेको तीन दिनपछि शुक्रबार पवनसित कुरा भएको थियो । ‘आमाबालाई हामीहरूको कुरा भन्ने अवसरै मिलेको छैन, भोलि शनिबार अवश्य पनि भन्छु । अनि तुरुन्तै बिहे गर्न गाउँमै बोलाउँछु । जिन लार नआउनु नि । कमसेकम यौटा टिलिक्क सारी लिएर भने आउनु नि, काली…’ भन्दाभन्दै काटिएको कनेक्सनले फेरि नेटवर्कै पाएन ।
शनिबार पनि नेटवर्कै मिलेन । आइतबार पनि मिलेन । सोमबार घन्टी गयो । मोबाइल पवनले उठाएन । पवनका पिताले उठाएका थिए । आइतबार अचानक पवन मुटु दुख्यो भन्दै ढलेको ढल्यै भयो । दुर्गम गाउँ । सदरमुकामसमेत लग्न नसकेको ।
यसभन्दा बढी सरिताले सुन्नै सकिन । तिमीको ? भनेर सोध्दा पनि पवनकी विना बिहेकी पत्नी भन्ने सूर आएन । साथी भनेर फोन राखेकी थिई उसले । सायद, आफ्नो परिचय दिएर तुरुन्तै किरिया बस्न जानुपथ्र्यो उसले । तर, कुन परिचय ? धर्मपत्नी कि अधर्मपत्नी ?
पवन र सरिता बिहे नगरीसँगै बसेको डेढ वर्ष भएको थियो । सहरी नयाँ चलन लिभिङ् टुगेदर ! पेटमा तीन महिनाको गर्भ । बच्चाको बाइलोजिकल पिता पवन मरिसक्यो । तर, पवनलाई सामजिक पिता भन्ने हैसियत छैन, नजन्मिसकेको बच्चाको । सरिता स्वयंकै सामाजिक पति त बनेनन् पवन ।
प्रेमको फल हो बच्चा । पवनको प्रसाद हो बच्चा । तर, पवन त छैन यसो भन्न । एक्ली महिलाले यसो भन्ने हैसियत समाजमा छैन । पापको फल ! कामाग्नीको झटारो ! सोच्दैमा विक्षिप्तिन्छ मन सरिताको ।
पवनको याद धेरै आउँछ । प्रेमै गरेर लिभिङ् टुगेदर नबसेका भए पनि लिभिङ् टुगेदर गर्दागर्दै प्रेम गरेका हुन् दुवैले । होस्टेलमा बस्थी ऊ । पार्ट टाइम कामबाट होस्टल खर्च र पढाइमा धान्न कठिन थियो ।
पवनको सानोतिनो जागिरबाट डेरामा बस्थ्यो पवन पनि । तर, उसलाई आर्थिक तालमेल गर्न गाह्रो परिहेको थियो । पहिले थोरै चिनापर्चीबाट पछि धेरै चिनापर्ची भयो ।
दुइटा कोठामध्ये एक÷एक कोठा बाँडियो । खाना संयुक्त खाने सहमति भयो । दुवैको खर्च घट्ने भयो । यसरी खर्च घट्ने सोचेर होस्टेलबाट डेरामा सरेकी हो सरिता । समय कालखण्डमा दुवै कोठा एकाकार भए । प्रेमले पेटमा फल दियो । अब बिहे नै गर्ने वेला भएको बुझे दुवैले । र पवन आमाबालाई भन्न हिँडेको हिड्यै भयो । पहिले मोबाइलको नेटवर्क हरायो । पछि पवनको नेटवर्कै टुट्यो । फेरि रिकनेक्सनको स्थिति नै हरायो, नेटवर्कजस्तै ।
सरिता अन्योलमा छे । बच्चा फाल्न कुनै समस्या छैन । आजै फाल्न सक्छे ऊ । बच्चा फालेर कन्या कुमारी हुन सक्छे ऊ । सब लफडाबाट बच्न सक्छे ऊ । तर, ऊ बच्चा फाल्न चाहन्ने । चाहन्छे, पवनको परिवारसित जोडिएरै बच्चा हुर्काउन । पवनको मायाको चिनो धर्तीमा कायम राखेर पवनप्रति श्रद्धान्जलि दिनु कर्तव्य ठान्छे ऊ । परन्तु, कुन कर्तव्य ? सरितासित जवाफ कहाँ छ ?
सरिता सोच्छे उसको धर्म यही हो । उसको प्रेमको पवित्रता यही हो । तर, उसको विवाह भएकै छैन । विना विवाहको प्रेमको कुन पवित्रता ? सरितासित जवाफ कहाँ छ ?
लिभिङ् टुगेदरको अर्थमा नारीलाई समाजले छाडा निर्लज्ज, वेश्यै जस्तो ठान्छ । पुरुषका हकमा भने पुरुषार्थी ठानिन्छ । सरिता छाडा होइन संस्कारैले । परन्तु, आज सरिता छाडामा रूपान्तर भएकी छे ।
पवनका परिवारले मान्ने सवालै छैन । पिछडिएको ठाउँका ती गाउँलेहरूबाट उसले आशा कसरी गर्ने ? वेश्या भनेर निकालीदिनेछन् । सम्पति खान आई कुकुर्नी, रण्डी कुन–कुन कुकुरको पेट बोकेर… भनिनेछ ।
हुन त नाम मात्र जोड्न चाहेकी हो सरिताले । गाउँमा बच्चा लगेर हुर्काउने सपना छैन उसको । न त तिनका सम्पतिकै । आखिर ऊ आफैले कमाएरै बच्चा हुर्काउनुपर्छ । यो सहरको जीवनको महँगाइसित अहिलै त लड्न गाह्रो छ । तर, उसित विकल्प छैन । यहीँ ठाउँमा लडेर बच्चालाई हुर्काउनु छ उसले ।
पवनको अफिसमा बेनिफिटहरूका सम्बन्धमा बुझ्न कोसिस गरी, बच्चा र ऊ आफैको बारे पनि । बेइज्जती गरियो । बिमा कार्यालयबाट पनि लत्याइयो उसलाई । लिभिङ टुगेदर भन्नासाथ जताततै गिल्ला । कतिले त लिभिङ टुगेदर गरेपछि अब डाइङ टुगेदर किन नगरेको पनि भनेर हाहाहा……गरे । पवनको बाइक पनि नामसारी हुन सकेन । लोन भने उसको आफ्नो नाममा, बाइक पवनको नाममा । जुन अफिस पुगे पनि उसको कुरो सुन्नासाथ वरिपरिबाट सबैले हेरेर हाँस्ने !
घरमा पनि भन्न सक्दिन ऊ । कलेजको डिग्री बोकेर आउँछे भनी सहर पठाएकी छोरी गर्भको डिग्री बोकेर फर्कन सक्ने अवस्था छैन । न त छ गर्भै लुकाउने अवस्था । न त फाल्ने मनस्थिति । न त पाल्ने परिस्थिति । कठिन छ वस्तुस्थिति ।
स्वास्थ्य कमजोर बन्दै छ । पैसा सकिँदै छ । रुन साथ दिने पनि कोही छैन । हौसला बढाउने पनि कोही छैन । सल्लाह सुझाव दिने पनि कोही छैन ।
बिरामी हुँदा पवनले तातो पानी पिलाएको सम्झन्छे । सन्चोको वाफ लिन सघाएको सम्झन्छे । सुप बनाएर खुवाएको सम्झन्छे । उसले खान्न भन्दा कान समातेर चम्चा चम्चा सुरुप्वाएको पनि सम्झन्छे । तर, पवन यता छैन । याद मात्रै छ । मान्छे नहुनु बरु सहन सकिने रहेछ । तर याद हुनु भने झनै सहनै नसकिने रहेछ । पहिलोपटक थाहा भयो, पवन नभएपछि मात्रै । अहिले कोही नभएपछि थाहा भयो सरितालाई पैले कोही हुनुको लफडा !
सरिता क्वाँ क्वाँ रुन्छे । तर, सुन्दैन भित्ताले । आँसु पुछिदिँदैन पर्दाले । नरोऊ सरिता, भन्दैन बत्तीको गुलुपले । पवन छैन यता । पर्दा पवन होइन, गुलुप पवन होइन । र पवन छैन ।
केटीका रूपमा यति एक्लो र निरीह तथा असहाय हुँदाहुँदै पनि आमाको रूपमा ऊ कमजोर छैन । ऊ चाहन्छे यो बच्चाले बाबुको नाम पाउनै पर्छ । यो बच्चा बाबुको वंशको एक अंश बन्नैपर्छ । छोरा हो कि, छोरी ? यो पनि उसलाई चिन्ता छैन । छोरा या छोरी जे भए पनि बाबुको नाम, थर र वंशज अधिकार पाउनैपर्छ उसको पेटको बच्चाले । पवनको यो अंशमा पवनकै नामको मोहर लाउन सक्नु नै अब उसको लडाइँ हुनेछ ।
यही अठोटमा वकिलको शरणमा ऊ पुगेकी थिई । देवानी संहिता ऐन अंशवन्डाको आठ नम्बरले उसलाई निराश बनायो । ‘प्रकाश नगरी बाहिर राखेका स्वास्नी वा उसबाट जन्मेका सन्तानलगायतले पति तथा पिता मरेपछि अंशमा दाबी गर्न सक्दैन’ भन्ने कानुनले उसलाई निराश बनायो ।
अंश चाहिएकै होइन, नाम मात्र चाहिएको हो । तर, अंशका हकदार नबनी वंशको नाम पाइन नसकिने कुरा वकिलले बताएका थिए ।
महिला अधिकारकर्मी वकिल गोमाजीले भने बाटो सुझाइन् । अहिले उसको सामुन्ने टेवुलमा त्यही कागजाद छ । उसले दस्तखत गरेको खण्डमा आजै अदालतमा मुद्दा दायर हुनेछ ।
गर्ने कि, नगर्ने यही चिन्तामा हिजो दिउँसोदेखि सरिता डुबेकी छे । उसले मुद्दा हाल्नु पर्नेछ, पवनमाथि । पवनले डेढबर्षदेखि स्वास्नी बनाएरसँगै राखेको र अहिले पेट बोकाएर बेपत्ता भागेकोले नाता कायम गराइपाऊँ भन्ने विषय देवानी संहिता ऐनको लोग्ने स्वास्नी महलको ५(क) बमोजिम नालिस पत्र तयार छ ।
पवन मरेको थाहै नपाएजस्तो गरी उसलाई पेट बोकाएर भागेको आरोप लगाउनुपर्छ उसले । भगुवा पवनको खोजी गरी पक्राउ गरिपाऊँ भनेरसमेत प्रहरीमा निवदेन हाल्नु पर्छ उसले ।
आफूले माया गरेको पवन ! आफूलाई त्यति विधि माया गर्ने पवन ! यस्तो पवन मरेपछि उसले भगुवाको आरोप लगाउने कसरी ? भाग्न त भागेकै हो, उसलाई एक्लै छाडेर ! अर्कै दुनियाँमा, फेरि नफर्कने गरी … बिरामी हुँदा सुप पनि सुरुप्याउन नसघाउने गरी … ओहोहोहो…! उफ ! उफ !
मनले मानिरहेको छैन । नैतिकताले पनि समर्थन गरिरहेको छैन । तर, वकिल गोमा प्रस्टै भन्छिन्, ‘यसबाट मात्र छिर्न सकिन्छ, अदालतको छिद्रभित्र । यो देशको कानुन यस्तै छ, अदालत यस्तै छ, सिधाबाटै छैन, टेढामेढाबाट नछिरी प्रवेशै हुन्न, न्यायको त प्रश्नै भएन, सरिताजी ।’ अधिकारकर्मी वकिल साहिबाको तर्क यही छ ।
अरू कुनै अर्को उपाय छैन । कि, बच्चा फाल्नु कि, बच्चालाई बाउ दिन मुद्दा हाल्नु । छनोट आफ्नो । गोमाजीको भनाइ स्पष्ट छ । धेरै सोची । रातभर मनले जित्यो र भन्यो, पवनलाई अपराधी नबना । उसले कागत च्यात्ने सोच बनाइ … र कागत हातमा लिई ।
अचानक बच्चा चल्यो । यहाँ के हुँदै छ थाहा पाएर, बच्चा छटपटिएको जस्तो लाग्यो । भनेजस्तो लाग्यो, ‘मेरो अस्तित्व किन च्यात्दैछेस्, आमा… मेरो अस्तित्व किन च्यात्दैछेस् आमा !’
पवन स्वयंले पनि उसको कानमा भनेजस्तो लाग्यो, ‘सरु, तिम्रो पेटबाट मै जन्मिँदै छु । काली, तिमीसित म मिलेर झन पूर्ण पवन बन्दै छु नि । मलाई नमार । मेरो अस्तित्व नच्यात, प्लिज, प्लिज, प्लिज !’ यसरी नै तीनचार पटक प्लिजप्लिज भन्ने बानी थियो पवनको ।
सरिता झल्यांस्स भई । यदि, उसले यो मुद्दा नहाल्ने हो भने कि, त उसले बच्चा मार्नुपर्छ, कि त बच्चा जन्माएर अवैध बच्चाका रूपमा जीवनभर बच्चालाई समाजको अपहेलनाबीच मरणतुल्य जीवन दिनुपर्छ । दुवै स्वीकार्य छैन ।
अचानक सरिता कराउन थाली, एकहोरो, ‘पवन, पवन म तिमीलाई फेरि यो धर्तीमा ल्याउँछु, आइ लभ यू पवन … पवन, पवन पवन… प्लिज प्लिज प्लिज ।’
…. र पवनले उसलाई पेट बोकाएर भागेकोले खोजेर नाता कायम गरिपाऊँ भन्ने मुद्दाको फिरादपत्रमा कालो डटपेनले दस्तखत धस्काई …. सरिता लामिछाने
पवन लामिछानेकी पत्नी
कृष्ण राना मगरकी छोरी ।
पेटबाट थ्यांक्यू थ्यांक्यू थ्यांक्यू आवाज आएजस्तो लाग्यो । प्लिज प्लिज प्लिजजस्तै थ्यांक्यू थ्यांक्यू थ्यांक्यू पनि तीनचोटि एक्कै सूरमा भन्ने बानी छ, पवनको ।
-पुस्तक ‘फिर्ता चाहियो’ बाट