ग्लोबल टि२० क्यानडाको पहिलो खेलमै चुटिए सन्दिप, टोरन्टोको हार !

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा आफ्नो पहिलो खेलमा ब्राम्पटन वोल्भीसविरुद्ध खराब प्रर्दशन गरेका छन् । टोरन्टो ब्राम्प्टन वल्भ्ससँग ११ रनले पराजित हुँदा सन्दीपले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

टस जितेर फिल्डिङ रोजेको टोरन्टोका लागि सन्दीपले ४ ओभरमा ४४ रन खर्चिए १ विकेट लिए । ब्राम्प्टनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन जोडेको थियो । जर्ज मुन्सीले ३६ बलमा ६६ रन जोडेपछि वल्भ्सले ठूलो योगफल खडा गरेको थियो । बाबर हायातले १८ बलमा नटआउट ४८ रन जोडेका थिए ।

टोरन्टोले सन्दीपलाई पाँचौ ओभरमा बलिङ गर्न ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरमै २४ रन खर्चिए । जर्ज मुन्सेले पहिलो,तेस्रो र चौथो बलमा चौका प्रहार गरे । जर्जले पाँचौ र छैटौं बलमा लगातार २ छक्का प्रहार गरेपछि सन्दीप पहिलो ओभरमै महँगो सावित भए । तर सन्दीपले ८ औं ओभरमा भने उत्कृष्ट पुनरागमन गरे ।

आठौं ओभरको पहिलो बल डट राखेका सन्दीपले दोस्रो बलमा जर्जलाई १ रन दिए । तेस्रो बल कोलिन मुनरोलाई डट राखे । चौथो बलमा सन्दीपले मुनरोलाई मिचेल मक्लिननघनको हातबाट २८ रनमा क्याच आउट गराए । मुनरो न्युजिल्यान्डका ओपनर ब्याट्सम्यान तथा ब्राम्पटनका कप्तान समेत हुन् । यस ओभरमा सन्दीपले १ विकेट सहित ३ रन मात्रै खर्चिए । सन्दीपले १० औं ओभरमा ७ रन खर्चिए ।

अन्तिम स्पेल लिएर १४ औं ओभरमा आएका सन्दीपले ११ रन खर्चिए । जसक्रममा चौथो बलमा नितेश कुमार र छैटौं बलमा शाहिद अफ्रिदीले चौका प्रहार गरे ।

जवाफमा टोरन्टोले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ११ रनमात्र जोड्यो । कप्तान युवराज सिंहले २२ बलमा ५१ रन जोडे । ब्रेन्डन मक्कुलमले ३६ तथा हेनरिक क्लासेनले ३५ रनको योगदान दिए । सन्दीपले ब्याटिङ गर्न पाएनन् ।

टोरन्टो ४ खेलमा १ जित र ३ हारसहित २ अंक बोकेर अंक तालिकाको पाँचौ स्थानमा छ । वल्भ्स लगातार चौथो जितसँगै ८ अंक लिएर शीर्षस्थानमा छ ।

प्रकाशित : आइतबार, साउन १९, २०७६०२:५६

एमबाप्पेले नेयमारलाई धकेलेर टिम फोटोबाट बाहिर निकाल्न खोजेपछि…[भिडियो सहित]