काठमाडौँ – मेलम्ची खानेपानी आयोजनामा काम गर्दा-गर्दै पाइप भित्रै फँसेर ज्यान गुमाएका सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको आइतबार अन्त्येष्टी गरिएको छ।
काठमाडौंको बलाजु स्थित मेलम्ची खानेपानी आयोजनामा मजदुरी गर्दै आएका साह दाजुभाइ शुक्रबार पाइप भित्रै फँसेका थिए। आधा घण्टा भन्दा लामो समय लगाएर उद्धार गरिएता पनि उपचारको क्रममा साह दाजुभाइ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो।
सहोदर दाजुभाइ रहेका सुरेश र शिवकान्तको शव आइतबार शम्भुनाथ नगरपालिकाको कनकपट्टी गाउँ पुर्याएर अन्त्येष्टी गरिएको हो। मृतक दुवैको एउटै चितामा हिंन्दु धर्म संस्कार अनुसार अन्त्येष्टी गरिएको छ।
मेलम्ची खानेपानी आयोजनामा काम गर्दा-गर्दै ज्यान गएपछि रामविलाश साह र रामबत्ती कोख रित्तो भएको छ। सन्ताको नाममा दुई मात्र छोरा रहेका साह दम्पतिको घरनै उजारिएको छ।
वेदेशिक रोजगारीमा जान खर्च जुटाउनका लागि १० दिन अघि मात्र बुवा सँगै मजदुरीका लागि काठमाडौँ गएका साह दाजुभाइको ज्यान गएपछि कनकपट्टी गाउँ समेत शोकमा डुबेको छ।