प्रचण्डलाई अपराधी र महरालाई महाडकैत भनियो भने के हुन्छ ? – राजेन्द्र महतो

काठमाडौँ – डिजिटल मिडियाहरुमा “राजेन्द्र महतो” को नागरिकता खारेज बारे आएको समाचार प्रति राजपाका नेता तथा सांसद राजेन्द्र महतोले आपत्ति जनाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभामा समय लिएर बोल्ने क्रममा महतोले “राजेन्द्र महतो” को नागरिकता खारेज भयो भन्दै आएको समाचार प्रति आपत्ति जनाएका हुन्।

राजेन्द्र महतो सहित ८ जनाको नागरिकता खारेज भन्दा ठाउँ, ठेगाना नखुलाइएको प्रति उनले प्रश्न गरेका थिए। हेरक काममा असफल भैरहेको सरकारले आफ्नो राष्ट्रियता माथि प्रश्न उठाउँदै भ्रम छर्ने काम गरेको भन्दै उनले सरकारको नियत माथि समेत प्रश्न उठाए।

संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको प्रती सरकारको नियत ठिक नदेखिएको उनको आरोप थियो । “कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।”,उनको प्रश्न थियो।

कुनै पनि अवस्थामा नाम मिलेको खण्डमा कृष्णबहादुर महरा महाडकैत रहेको र आजीवन कारावास सजाय भयो भन्दै समाचार आयो भने के हुन्छ भन्दै पनि महतोले प्रश्न समेत गरेका थिए।

“भोलिचाहिँ कृष्णबहादुर महरा ‘महाडकैत’, आजीवन कारावास भयो भनेर समाचार आएकोमा सभामुख कृष्णबहादुर महरा भनेर समाचार आएमा के हुन्छ त्यो ?”,प्रश्न गर्दै उनले भनेका थिए।

यस्तै उनले पुष्पकमल दाहाल नाम गरेका व्यक्तिले गरेको अपराध बारे समाचार आउँदा नेपाल कम्युनिष्ट पार्टीका पुष्पकमल दाहाल प्रचण्ड भन्दै समाचार आए के हुन्छ भन्दै पनि प्रश्न गरेका थिए।

महतोले यसरी उदाहरणस्वरूप “कृष्णबहादुर महरा महाडकैत” र “प्रचण्डलाई अपराधी” भनेको प्रति नेकपाका दुई सांसदले महतोले प्रयोग गरेको भाषाप्रति नियमापत्ति गरेपछि त्यसलाई संसद्को रेकर्डबाट हटाउन सभामुख कृष्णबहादुर महराले रूलिङ गरेका छन् ।

महराले भने,”विशेष समयमा बोल्ने मान्य सदस्यले प्रयोग गरेको भाषाप्रति गम्भीर ध्यानाकर्षण भएकोले प्रतिकूल हुने गरी प्रयोग भएका शब्द हटाउन सचिवालयलाई निर्देशन गर्छु ।”

सरकारले झुटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजहरुलाई नागरिकबाट हटाउने निर्णय गरेको बारे सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा जानकारी गराएका थिए।

उनका अनुसार अशोक साह, विन्दे महतो, दानादेवी महतो, सुशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द गरिएको थियो।

रद्द गरिएका नागरिकता मध्ये राजेन्द्र महतोसँग राजपा नेताको नाम मिल्न गएपछि डिजिटल मिडियाहरुमा “राजेन्द्र महतोको नागरिकता खारेज” भन्दै समाचार आएका थिए।

प्रकाशित : सोमबार, साउन २०, २०७६०९:५५

मेस्सी नहुँदा सुआरेजले यसरी गरे बार्सिलोनाको उद्दार [भिडियो सहित]