काठमाडौँ : गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहलाई ललितपुरको श्रीलालीगुराँस सहकारी संस्थाले ५ करोड ऋण तिर्न ताकेता गरेको छ ।
ढकालले ऋण तिर्नुको सट्टा सहकारीविरुद्ध मिडियावाजी गरि अपरिचित व्यक्तिहरुमार्फत धम्क्याउने काम गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सहकारीले एक पत्रिकामा सूचना निकालेको हो ।
ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकोमा साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको र उक्त घरले समेत ऋण चुक्ता नभएको पत्रमा उल्लेख छ ।
ढकाल दम्पत्तीसहित सहकारीले केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शितल भिडियो चलचित्र मन्दिरलाई पनि ऋण चुक्ता गर्न भनेको छ । सूचनाका आधारमा ढकालले चुक्ता गर्न बाँकी रकम २ करोड ३० लाख ९७ हजार ७६१ र उनकी श्रीमती निलमले २ करोड ६२ लाख २४ हजार ८९ तिर्नुपर्ने देखिएको छ ।
ढकालले भने आफूले ४ वर्षअघि नै ऋण तिरिसकेको दावी गर्दै पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गर्न खोजिएको आरोप लगाएका छन् ।