एजेन्सी – विशेष गरेर सलादको रुपमा प्रयोग हुने काक्रो गर्मीको समयमा धेरै प्रयोग गरिन्छ। काँक्रोमा ९५ प्रतिशत पानीको मात्रा हुने हुँदा नै गर्मीमा यसको प्रयोग बढी हुने गरेको हो।
काक्रोका खनिज, भिटामिन र इलेक्ट्रोलाइट्स पर्याप्त मात्रामा पाइन्छ । यस्ता तत्वहरु हुने भएकै कारण गर्मीमा काक्रो अत्याधिक फाइदाजनक हुने विज्ञहरु बताउँछन्। काक्रो पाचन सम्बन्धी समस्या भएकाहरुलाई समेत फाइदाजनक मानिन्छ।
काक्रो स्वादिलो भएता पनि कहिले काहीं काक्रोमा हुने तितोपनाले भने धेरैलाई दिक्क बनाउन सक्छ। काक्रोलाई तितो बनाउन यसमा हुने विभिन्न तत्वहरुको भूमिका हुन्छ।
विभिन्न रसायन र सिंचाई सहि तरिकाले नहुँदा काक्रो तितो हुने विज्ञहरुको दावी छ। विज्ञहरुका अनुसार काक्रोमा हुने तितोपना हटाउन निम्न तरिका अपनाउन सकिन्छ।
यदि तपाईलाई काक्रोमा हुने तितोपना मन पर्दैन भने काक्रोको माथिल्लो भाग काट्नुहोस् अनि त्यहाँ नुन लगाएर राख्नुस्। केहि समय पछि तल्लो भाग पनि काट्नुस् र त्यहाँ पनि नुन लगाउनुस्। नुनले तितोपना काट्ने काम गर्छ।
यस्तै तितोपना हटाउन अर्को उपाय पनि लगाउन सकिन्छ। त्यसको लागि काक्रोलाई दुई चिरा बनाउनुस्। अनि नुन काटिएको चिरामा नुन लगाउनुस्, पुन जोडेर त्यतिकै छाड्नुस्। त्यसरी राख्दा काक्रोबाट हल्का फिँज आउँछ। यस प्रक्रियालाई दुई तीन पटक दोहोर्याउँदा काक्रोको तितोपना हटेर जान्छ।
विज्ञहरुका अनुसार बोक्राको कारण पनि काक्रो तितो हुन्छ। यहि कारणले गर्दा काक्रोलाई ताछेर खाँदा तितो नहुने हुन्छ। काक्रोको तितोपनाले खासै केहि असर नगर्ने हुँदा तितो नै खाँदा पनि केहि नहुने विज्ञहरुको सुझाव छ।