एजेन्सी – भारत हरियाणाका किसानहरुले खेत-बारीको बाली बचाउन जे गर्दै आएका छन् त्यसले धेरैलाई चकित बनाइदिन सक्छ।
हरियाणा स्थिति फतेहाबाद जिल्लाका किसानहरुले आफ्नो बाली-नालीमा कीरा नलागोस् भन्नको लागि प्रयोग गर्दै आएको अजिव तत्व बारे थाहा पाउँदा धेरैलाई अचम्म लाग्न सक्छ।
खासमा, त्यहाँका किसानहरुले बाली-नालीमा कीरा नलागोस् भन्नको लागि रक्सीको प्रयोग गर्दै आएका छन्। भारतीय संचार माध्यमहरुका अनुसार त्यहाँका किसानहरुले बालीनाली कीरा नलागोस् भनेर पानिमा रक्सी मिसाएर पम्पको माध्यमबाट छिट्ने गरेका छन्।
रक्सी र पानि मिसाएर छिट्दा के हुन्छ भन्ने थाहा नभएता पनि त्यहाँका किसानहरु पछिल्लो समय देखि त्यस्तै गर्दै आएका छन्। यसो गर्दा राम्रै हुने किसानहरुको दावी छ।
तर स्थानीय कृषि अधिकारीले भने यस उपायलाई किसान माझ फैलिएको अन्धविश्वासको संज्ञा दिने गरेका छन्। यसो गर्दा कुनै पनि किरा नमर्ने उनीहरुको तर्क छ। किसान भ्रमित भएर आफ्नो बाली-नाली खराब गर्नेगरेको उनीहरु बताउँछन्।
रसायनको प्रयोगले खर्च बढ्ने र विषाक्त तत्वहरूले उत्पादन र वातावरणमा असर पर्ने गरेको भन्दै किसानहरुले नयाँ तरिका अपनाउन थालेका हुन्।
रक्सी र पानि छिट्दा अहिले सम्म कुनै नराम्रो असर नभएको किसनहरु बताउँछन्।