ओखलढुङ्गा – जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।
सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनको भनाइ छ ।
मङ्गलबार घाँस काट्न गएकी किशोरीसँग प्रहरी जवान यादवले जङ्गलमै जवरजस्ती सम्बन्ध राखेका बेला किशोरीका बुबाले देखेपछि घटना बाहिर आएको हो । घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए । चौकी तोडफोडको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो ।
यादवले इच्छाविपरीत पटक–पटक सम्बन्ध राखेको भन्दै किशोरीले किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी हुन् ।
यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उक्त किशोरीलाई आश्वासन दिएर सम्बन्ध राखेको खुलेको छ।
डेढ महीना अघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो ।
घटनापछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।