नेपाली क्रिकेटको दुर्दशा : व्यक्तिगत स्रोतमै यू-१९ को अभ्यास सुरु !

काठमाडौं – अर्को महिना श्रीलंकामा हुने यू-१९ एसिया कपका लागि नेपाली खेलाडीले व्यक्तिगत स्रोतकै भरमा अभ्यास थालेका छन् । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपालले आधिकारीक बन्द प्रशिक्षण २७ गतेदेखि मात्रै सुरु गर्ने भएपछि खेलाडीहरुले आफ्नै स्रोतमा प्रशिक्षण सुरु गरेका हुन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले २७ गते देखि मात्र प्रशिक्षण गर्ने स्वीकृति दिँदा धेरै ढिला हुने भएपछि खेलाडी र प्रशिक्षकले आफ्नै पहलमा अभ्यास थालेका हुन् । नेपालको मागभन्दा एसीसीले एक हप्ता ढिला स्वीकृती दिएको हो । तर प्रशिक्षक विनोद दासले काठमाडौंमा उपलब्ध रहेका सबै खेलाडीलाई बोलाएर आजदेखि नै अभ्यास थालेका हुन् ।

‘२७ गतेदेखी औपचारिक बन्द प्रशिक्षण सुरु हुनेछ । काठमाडौंमा उपलब्ध सबै खेलाडीलाई बोलाएर आज देखी अभ्यास थालेका छौं । चार दिनसम्म बल लगायतका हुने सबै खर्च हामी आफैं बेहोर्नेछौं, ‘ दासले भने । गत महिना मात्र इस्टर्न रिजन छनोटमा तहल्का मच्चाएका खेलाडीले अब केहि दिन आफैं खर्च गरेर तयारी गर्नुपर्ने भएको छ ।

नेपालले भदौ ७ सम्म नेपाल मै अभ्यास गर्ने छ । विदेशमा अभ्यासको बारे अझै टुंगो लागेको छैन । श्रीलंकामा हुन सक्ने संभावना रहेपनि आधिकारीक रुपमा निर्णय नआएको प्रशिक्षक विनोद दासले जानकारी दिए ।

नेपाल गत महिना यू-१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बन्दै प्रतियोगिताका लागि छनोट भएको हो। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, यूएई, नेपाल र कुवेत छन् । नेपाल अघिल्लो महिना मलेसियामा सम्पन्न एसीसी यू१९ इस्टर्न रिजनको बन्द प्रशिक्षणमा राखेको १९ खेलाडीलाई नै यसपटक निरन्तरता दिनेछ ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०५:३८

टेष्ट राष्ट्र सहभागी टि२० प्रतियोगिता खेल्दै नेपाल ! यस्तो छ खेलतालिका