डोटी – सुदूरपश्चिम प्रदेशका प्रहरीलाई घटनाका आरोपितलाई थुनामा राख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरी चौकीमा थुनुवा राख्ने कोठा नहुँदा समस्या भएको छ ।
सशस्त्र द्वन्द्वका समयमा भत्काइएका अधिकांश चौकी पुनर्निर्माण नहुँदा तथा ग्रामीण क्षेत्रमा आफ्नै भवन नहुँदा थुनुवा राख्न समस्या हुने गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार प्रदेशमा सशस्त्र द्वन्द्वको समयमा भत्काइएका चार दर्जनभन्दा बढी प्रहरी एकाइमध्ये हालसम्म १४ भवन निर्माण गरिएका छन् । केही निर्माणका क्रममा छन् ।
पुनर्निर्माण भएका प्रहरी चौकीमा अछामको इलाका प्रहरी कार्यालय बयलपाटा र विनायक, डोटीमा इलाका प्रहरी कार्यालय बिपीनगर र प्रहरी चौकी बोगटान, डडेल्धुरामा प्रहरी चौकी पोखरा, कैलालीमा इलाका प्रहरी कार्यालय फल्टुडे र इलाका प्रहरी कार्यालय चौमाला, कञ्चनपुरमा इलाका प्रहरी कार्यालय झलारी, बैतडीमा इलाका प्रहरी कार्यालय पाटन र इलाका प्रहरी कार्यालय तस्सोदेही, बाजुरामा प्रहरीचौकी तिल्लिचौर, दार्चुलामा सीमा प्रहरी चौकी लाली र इलाका प्रहरी कार्यालय गोकुलेश्वर तथा बझाङ्गमा प्रहरी चौकी मेलबिसौना छन् ।
अधिकांश प्रहरी चौकीका प्रहरी थुनुवालाई आफूसँगै राखेर सुत्न बाध्य छन् । “थुनुवा राख्ने अलग्गै ठाउँ छैन, राति भागे समस्या पर्छ, त्यसैले थुनुवालाई सँगै राखेर सुत्छौँ”, डोटीका एक प्रहरी जवानले भने।
कतिपय प्रहरी चौकीका प्रहरी रातभर जाग्राम बस्छन् । कहिलेकाहीँ प्रहरीको भन्दा थुनुवाको सङ्ख्या बढी हुन्छ । जिल्ला सदरमुकाममै थुनुवा कोठाको अभावमा प्रहरीलाई समस्या हुँदै आएको इलाका प्रहरी कार्यालय दीपायलका प्रमुख कमलापति पन्तले बताए । उनले भने, “भवन निर्माणको प्रक्रियामा छ, महिला थुनुवा राख्ने अलग कोठा छैन ।”