बार्सिलोनालाई फेरी चोटले सतायो, पुन: अर्का खेलाडी घाइते !

एजेन्सी – कप्तान लिओनेल मेस्सीलाई चोटका कारण गुमाएको क्याटलान क्लब बार्सिलोनालाई अर्को समस्या आइपरेको छ । यसै सिजन क्लब भित्रिएका गोलरक्षक नेटो प्रशिक्षणका क्रममा घाइते भएका छन् ।

भ्यालेन्सियाबाट ३० मिलियन युरोमा आएका गोलरक्षक नेटोको प्रशिक्षणका क्रममा नाडी भाँचिएपछि बार्सिलोनालाई समस्या परेको हो । उनको चोटबारे विस्तृत विवरण आउने बाँकी रहेको छ । यद्यपि उनले कम्तिमा ६ साता विश्राम गर्नुपर्ने बुझिएको छ । क्लबले विस्तृत परिक्षणपछि सोमबार उनको अवस्थाबारे जानकारी दिने बताएको छ ।

यसअघि कप्तान लिओनेल मेस्सी पनि प्रशिक्षणमा फर्केको पहिलो दिन नै घाइते भएका थिए । मेस्सीले चोटका कारण आगामी शुक्रबार एथ्लेटिक बिल्वाओविरुद्धको ला लिगाको पहिलो खेल गुमाउने भएका हुन् । मेस्सीले बार्सिलोनाको प्रशिक्षणमा जोडिएको पहिलो दिन नै पिडौंलाको चोट बोकेका थिए । त्यसयता उनी उपचार र विश्रामा छन् ।

अमेरिकामा शनिबार राति बार्सिलोनाले इटालियन क्लब नेपोलीमाथि ४–० को फराकिलो जित निकालेको खेलमा पनि उपस्थित थिएनन् । नेपोलीविरुद्ध फराकिलो जित निकालेपछि प्रशिक्षक इर्निस्टो भालभर्डेले मेस्सीले एथ्लेटिक बिल्वाओविरुद्ध खेल्ने सम्भावना न्यून रहेको बताएका थिए । ‘म यो निकै कठिन देख्दैछु । उनी ला लिगाको पहिलो खेल खेल्न पुर्ण रुपमा फिट हुने छैनन्,’ प्रशिक्षक भालभर्डेले भने, ‘म ३२ वर्षीय मेस्सीलाई लिएर कुनै जोखिन मोल्दिन । उनलाई जोखिमका बीच खेलाउन चहान्न । उनी शतप्रतिशत फिट नहुदासम्म पर्खनेछ ।’

मेस्सी नहुँदा पनि नेपोलीलाई हराएको र नयाँ फरवार्ड ग्रिजमले गोल गरेको अवस्थामा टोली सन्तुलित रहेको प्रशिक्षक भालभेर्डेले बताएका छन् ।

प्रकाशित : सोमबार, साउन २७, २०७६०६:११

‘नेयमार आउट’ भन्दै नाराबाजी !