आफ्नो घर आफैँ भत्काउन थालेपछि…

– केदार मगर

खोटाङ – बिहान ११ बजेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दैनिक उपभोग्यवस्तु किनमेल गर्ने सर्वसाधारणको बाक्लै चहलपहल शुरु भइसकेको थियो । किनमेल गर्ने र प्रशासनिक काम गर्न गाउँबाट आएका सर्वसाधारणको हुललाई उछिन्दै हेलमेट लगाएको सशस्त्र र जनपद प्रहरीको टोली हातमा ढाल र लाठी बोकेर रत्नपार्कतर्फ जाँदै थियो ।

केही छिनपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी सुरक्षाकर्मीको घेरिभित्र डोजर लिएर रत्नपार्क पुगे । करीब १२ बजे रत्नपार्क पुगेका नगरपालिकाका कर्मचारीको सोमबारको काम (ड्यूटी) थियो मापदण्ड बिपरित बनेका घरटहरा जसरी पनि डोजर लगाएर भत्काउने । तर, रत्नपार्कका स्थानीयवासीले प्रहरी र कर्मचारी आइपुग्नुअघि नै आफ्नो घर आफै भत्काउन थालिसकेका थिए ।

सुरक्षाकर्मीको दलबलसहित रत्नपार्क पुगेका कर्मचारी दिनभर स्थानीयवासीले आफ्नो घर आफै भत्काएको दृष्य रमिता बनेर हेरिरहे । नगरपालिकाको योजना शाखा अधिकृत सीताराम खतिवडाको नेतृत्वमा गएको प्राविधिकसहितको टोली करीब पाँच बजे आफ्नो ड्यूटी समय सकाएर कार्यालय फर्किए ।

मापदण्ड बिपरित बनेका घरटहरा हटाएर आफ्नो नगरपालिकालाई व्यवस्थित बनाउन नगरपालिकाले हप्ता दिनअघि (साउन–२० गते)देखि अभियान शुरु गरेको थियो । यसबीचमा नगरपालिकाले मापदण्ड बिपरित बनेका करीब डेढ दर्जन घरटहरा हटाइ सकेको छ । लामो समयदेखि नगरपालिकाको मापदण्ड मिचेर बसेका सबैको घर तथा टहरा हटाउन नगरपालिकाले डोजर नै प्रयोग गर्नुपरेको थियो ।

यतिसम्म की अभियानको पर्सीपल्ट साउन–२२ गते डोजर लगाएर घरटहरा भत्काउँदा स्थानीयवासीले कर्मचारीमाथि हातपात नै गरेका थिए । स्थानीयवासीको अवरोधका बाबजुद नगरपालिकाले डोजर लगाएर रत्नपार्कमा सञ्चालित मोटरबाइकको वर्कशप रहेको टहरा तथा आसपासका स्थानीयवासीको घरटहरा हटाएरै छाडेको थियो ।

सुरक्षाकर्मीको बलमा सामान हटाउन नदिइ जबरजस्ती डोजर लगाएपछि प्रतिकारमा उत्रनु परेको स्थानीयवासीले बताउँदै आएका छन् । तर, यस पटक भने त्यस्तो अवस्था आएन । रत्नपार्कका स्थानीयवासी रामकाजी खत्री लगायतले आफ्नो घरटहरा आफै भत्काएर नगरपालिकाको अभियानमा सहयोग गरेका छन् ।

नगरपालिकाको अभियानमा आफूहरुको पनि साथ रहेको भन्दै उनीहरु आफैले कामदार लगाएर दुई वटा टहरा तथा एक वटा घर आफैले भत्काएका छन् । नगरपालिकाले जसरी पनि घरटहरा भत्काउने भएपछि आफ्नो घर आफैले भत्काएको लाहुरे हार्डवेरका सञ्चालक समेत रहनुभएका खत्रीले बताउनुभयो । “आफ्नो घर आफै भत्काउँदा नगरपालिकाको अभियानमा सहयोग गरेजस्तो पनि भएको छ”, उहाँले भन्नुभयो, “सामान पनि सुरक्षित रहने हुँदा घाटा व्यहोरेर कारबाहीको लिस्टमा पर्नुभन्दा आफ्नो घर आफैले ज्यालामा कामदार लगाएर भत्काइएको हो ।”

मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दा समेत स्थानीयवासीले अटेरी गरेपछि गत सोमबारबाट डोजर प्रयोग गरेर हटाउन शुरु गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “अव्यवस्थित नगरपालिकालाई व्यवस्थित बनाउने अभियानमा हामी लागेका छौँ”, उहाँले भन्नुभयो, “अटेरी तथा अवरोध गर्ने जोसुकैको घरटहरा हटाएर व्यवस्थित र सुन्दर नगर बनाएर छाड्छौँ ।”

नगरपालिकाले जसरी पनि घरटहरा हटाउने भएपछि अहिले दिक्तेलबजार तथा आसपासका स्थानीयवासीले आफ्नो घरटहरा आफै हटाउन शुरु गरेका छन् । मापदण्ड बिपरितका घरटहरा हटाउन नगरपालिकाले समयसिमा पनि दिएको छ ।

दिक्तेलबजारको अल्छेढुङ्गाबाट शुरु गरिएको अभियान क्रमशः नगरपालिकाको सबै वडामा पु¥याइने नगरउपप्रमुख विणादेवि राईले बताउनुभयो । “पहिलो चरणमा दिक्तेलबजारका घरटहरा हटाउन थालिएको छ”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा घरटहरासँगै अन्य संरचना भत्काएर व्यवस्थित गरिनेछ ।”

सडकको दायाँ ३१ र बायाँ ३१ मिटर छोडेर मात्र भौतिक संरचना तथा घरटहरा बनाउन नगरपालिकाको तर्फबाट भनिएपनि स्थानीयवासीले जवरजस्ती मापदण्ड मिचेर बनाएका छन् । नगर क्षेत्रभित्र मापदण्ड मिचेर घरटहरा बनाएमा अथवा नक्सा पास नगरी बनाएमा नगरपालिकाले जुनुसुकै बेला भत्काउन सक्ने र भत्काउदा लाग्ने खर्च संरचना बनाउनेबाट नै असुलउपर गरिने जनाइएको छ ।

हटेर गर्नेलाई रु पाँच लाखसम्म जरिवाना गराउन मिल्ने कानूनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताउनुभएको छ । पुरानो संरचनाका घरहरु मात्र रहेको दिक्तेलबजारका अधिकांश स्थानीयवासीको घर भत्काउनुपर्ने प्राविधिकले बताएका छन् ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०४:४०

प्रचण्डपुत्र ‘प्रकाश’को नाममा विदेशी बैङ्कमा २१ अर्व भए प्रमाणित गर्न चुनौती ! [विज्ञप्ति]