नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको ज्यान गएको छ । निधन हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख अभिनारायण काफ्लेका अनुसार शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको क्रसर उद्योगमा टिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर १९ वर्षका थिङ सख्त घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमै निधन भएको हो । बा४ख ८७१८ नंको टिपरका सहचालक रहेका उनको निधन भएपछि उक्त गाडीका चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णुबहादुर सहचालकका काका हुन् ।