साउन ३० । विप्लप समूहका कार्यकर्ताहरुले म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्षमाथि दुर्व्यवहार गरेका छन् । बिहीबार वडाध्यक्ष हिराबहादुर थापालाई कार्यकक्षमै दुर्व्यवहार गरिएको हो । वडाध्यक्षको कार्यकक्षमा प्रवेश गरेका ४ जना अपरिचित पुरुषको समुहले हिराबहादुर थापाको अनुहारमा कालो मोसो दलेर चप्पलको माला लगाएका हुन् । साथै उनीहरुले थापाको साथमा रहेको मोबाइल समेत लुटेर लागेको बताइएको छ ।
राजस्व संकलनमा विभेद, भ्रष्टाचार, बजेट वितरणमा मनोमानी लगायतका पदको दुरुपयोग हुने किसिमका गतिविधि गरेकाले ‘जनकारबाही’ गरिएको नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेकपा म्याग्दीले जनाएको छ । वडा अध्यक्ष थापामाथि दुर्व्यवहार हुदा कार्यकक्षमा उनि र कार्यालय सहयोगी मात्र थिए। दुर्व्यवहार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।