काठमाडौँ – निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ ।
न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मातला माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले फैसला लेख्नको काम नसएिको उल्लेख गर्दै आगामी भदौ ५ गते निर्णय सुनाउने तय गरेको हो ।
एनसेल प्रालिको ८० प्रतिशत सेयर खरीद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । त्यसको फैसला मात्र आउन बाँकी छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत पूर्ण इजलासले गत माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गर्दै कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिनु भन्ने पूर्ण इजलासले परमादेश जारी गरेको थियो ।
अदालतले ठूला करदाता कार्यालयले एनसेलमाथि रु ६२ अर्ब ६३ करोड कर निर्धारण गरेको थियो । यसमध्ये करीब रु साढे ३९ अर्ब एनसेलले बुझाउन बाँकी छ ।