अशक्त प्रहरी कर्मचारीलाई स्कुटर

नेपाल प्रहरीले अशक्त प्रहरी कर्मचारीलाई चारपाङ्ग्रे स्कुटर हस्तान्तरण गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आज कार्यक्रम आयोजना गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सेवानिवृत्त भएका अशक्त प्रहरी कर्मचारीलाई चारपाङ्ग्रे स्कुटर हस्तान्तरण गर्नुभएको हो ।

महानिरीक्षक खनालले कर्तव्यपालनाको सिलसिलामा विभिन्न कारणले घाइते भई अशक्तताका कारण हिँड्डुल गर्न कठिन भएकाले कर्मचारीलाई सङ्गठनको नीतिअनुसार उक्त स्कुटर हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

महानिरीक्षक खनालले प्राप्त सवारी साधनलाई भरपुर उपयोग गरी जीवन अझै सार्थक बनाउन आग्रह गर्दै समस्या परेको बेला सहयोग गर्न सङ्गठन तयार रहेको बताउनुभयो । अशक्त अवस्थामा पनि आँट, साहस र हिम्मतका साथ गरेको सङ्घर्ष प्रेरणादायी रहेको उहाँको भनाइ थियो ।

नेपाल प्रहरीले आफ्ना सदस्यहरुको पीर, मर्कालाई सम्बोधन गर्ने प्रयासस्वरुप प्रहरी कल्याण कोषमार्फत विभिन्न सेवासुविधा प्रवाह एवम् कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

महानिरीक्षक खनालले पूर्वप्रहरी निरीक्षक रामबहादुर चन्द, प्रहरी सहायक निरीक्षक देवी नेपाल र केन्द्रीय प्रहरी विशेष कार्यदलमा कार्यरत प्रहरी जवान पासाङ लामालाई स्कुटर हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित : बुधबार, असोज ०१, २०७६१५:०७

निगमले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने