पोर्चुगल युरोकपमा छनोट : रोनाल्डो अन्तर्राष्ट्रिय १०० गोल नजिक !

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोको ९९औं अन्तर्राष्ट्रिय गोलसँगै डिफेन्डिङ च्याम्पियन पोर्चुगलले युरोकपमा स्थान बनाएको छ । युरोकपमा स्थान बनाउन जित्नै पर्ने खेलमा पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपाविजेताको रुपमा छनोट हुन सफल भएको हो ।

छनोटको नजिक रहेको सर्विया शीर्षस्थानको युक्रेनसँग २–२ गोलको बराबरीमा रोकिएपछि पोर्चुगलको छनोट जीवित बनेको थियो । जितसँगै पोर्चुगलले ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । शीर्षस्थानको युक्रेनले २० अंक जोड्यो । सर्वियाको १४, लक्जेमवर्गको ४ तथा लिथुनियाको १ अंक रह्यो ।

लक्जेमवर्गमा आइतबार राति भएको खेलमा पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेज र रोनाल्डोले गोल गरे । घरेलु टोलीलाई दवावमा राखेपनि पोर्चुगलले गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । खेलको ३९औं मिनेटमा बर्नाडो सिल्भाको पासमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसअघि ३२औं मिनेटमा पोर्चुगलका राफयल गुरेरोले गोलको सुन्दर मौका खेर फालेको थियो ।

दोस्रो हाफमा पनि दुवै टोलीले केही मौका खेर फालेको थियो । ८०औं मिनेटमा रोनाल्डोको फ्रिकिक पोस्टबाट थोरै बाहिरिएको थियो । खेल सकिन ४ मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गर्दै पोर्चुगलाई २–० को जित दिलाए । २००३ देखि राष्ट्रिय टोलीमा रहेका रोनाल्डोको यो १६४ खेलमा ९९औं अन्तर्राष्ट्रिय गोल हो । उनी १०० गोल नजिक रहेका छन् ।

पोर्चुगलले २०१६ को युरोकपमा आयोजक फ्रान्सलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

यही समूहको अर्का खेलमा सर्विया र युक्रेनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । बराबरीसँगै सर्वियाको प्ले अफबाट छनोट हुने सम्भावना रहेको छ ।

प्रकाशित : सोमबार, मङि्सर ०२, २०७६०२:५९

आरबी लेइप्लिज समूह विजेता !