पर्सामा प्रहरी बदनाम बन्दै

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको भ्रष्ट मानसिकताको कारण बिस्तारै प्रहरीको सत्य सेवा सुरक्षाको नारासमेत नाकाम बन्न थालेको आभाष आमरूपमा हुन थालेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

पर्सा प्रहरीलाई आफूमाथि जतिसुकै इमानदारीको पगेरी गुथ्न खोजेको भए पनि जताततै सुरु भएको तस्करी र प्रहरी अधिकृतहरूले नै ठाउँठाउँमा पैसा उठाउन प्रहरीलाई नै अभिभारा सुम्पेपछि उनीहरूको नियतमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले यतिबेला सबैमा समान रूपमा कानुनको परिपालना गराएर वर्तमान सरकारको लोकप्रियताको लागि काम गर्नुपर्ने ठाउँमा जसरी भए पनि सरकार विरुद्धमा जनमत निर्माण होस् भन्ने गरी आफ्नो काम कारवाहीलाई भ्रष्टाचारयुक्त गर्न लागिपरेको समाचार प्राप्त भएको छ ।

मुद्दा, क्राइम लगायतका फाँटमा कार्यरत प्रहरीका जिम्मेवार व्यक्तिहरू नै अहिले तस्करसँग मिलिभगत गरी द्रब्यलालचमा लिप्त रहेका छन् । हिरासतमा रहेका व्यक्तिहरूलाई बाहिर निकालेर मोलमोलाई गर्ने रकम लिएको आधारमा कुन मुद्दा चलाउने वा हिरासतबाट छुटकारा गर्ने भन्ने विषयमा आजभोलि मोलमोलाइ हुने गरेको बताइन्छ । यसमा एक जना प्रहरी नायब निरीक्षकले प्रहरीको सबै तहका हाकिमहरूलाई पैसा बुझाउनुपर्छ भनेर ओहोदा अनुसारको रकम मासिक रूपमा बुझाउने शर्तनामामा टेन्डर लिएको समाचार बाहिर आएको छ ।

अचेल भारतका विभिन्न स्थानबाट घरायसी कामकाजका लागि लिएर आएको रकम पनि जफत् गर्ने र राजस्वमा नबुझाएरै दम्पच बनाउने गरेको समेत बताइन्छ । वीरगञ्जको छपकैया र भकुवा नाका अहिले तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको छ । यो नाकाबाट बिहानदेखि रातीसम्म तस्करहरूले अवैध मालसमान ओसारपोसार गरिरहेको सहजै हेर्न सकिन्छ ।

छपकैया र भकुवाको नाका प्रयोग गरी तस्करहरूले भारतबाट अवैध रूपमा सर्टिङसुर्टिङका कपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स पार्टपुर्जा, चामल, दाल, नेपालतर्फ भित्र्याइरहेका छन भने नेपालबाट भारततर्फ केराउ, मरिच, छोकडा ओसारपोसार गरिरहेका छन् । तस्करहरूले सीमामा खटेका प्रहरीहरूलाई आर्थिक प्रलोभनमा पारी निर्वाध रूपमा तस्करी धन्दा सञ्चालन गरिराखेका छन् ।

छपकैया नाकाबाट मटर र छोकडाको काम गर्ने मोछु, सुमन, अशोक, शंकरलगायत १० जनाको गु्रप रहेको स्रोतको दावी छ । भारतबाट नेपाल हुँदै एउटा साइकलमा पाँच ओटा भारतीय चामलको बोरा राखी सहज रूपमा नेपालतर्फ आइरहेको दृश्यमा कसैसामु लुक्ने गरेको छैन । तर, सिमामा खटेका प्रहरीले केही रकमका लागि सीमालाई कमाई खाने भाडोको रूपमा प्रयोग गर्दै आएका छन् ।

केही दिनयता सशस्त्र प्रहरीले समेत जिल्लामा तस्करीमा नयाँ कीर्तिमान कायम गर्ने गरी तस्करीका लागि सबै बाटो खुला गरिदिएकोे छ । विभिन्न नाकामा खटिएका सशस्त्र प्रहरी प्रमुखले माथिसम्म रकम बुझाउनुपर्छ भन्दै तस्करीको लाइन दिएको समाचार विशेष सूत्रबाट प्राप्त भएको छ ।

प्रकाशित : मङ्गलबार, पुष २२, २०७६०४:२४

१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने