क्रिकेटर वसन्तलाई पुत्री लाभ, झरे खुसीका आँशु !

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी वसन्त रेग्मीलाई पुत्री लाभ भएको छ । वसन्त र पुनम न्यौपाने रेग्मीको पहिलो सन्तानका रुपमा बिहीबार दिउँसो ४ः१५ बजे छोरीको जन्म भएको छ ।

नेपालगन्ज नर्सिङ होममा पुनमको शल्यक्रियाबाट छोरीको जन्म भएको वसन्तले जानकारी दिए । उनका अनुसार अहिले आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको छ । वसन्त र पुनमको ५ वर्षअघि विवाह भएको थियो ।

एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका वसन्त अहिले पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि बोलाइएका छन् । प्रशिक्षण पोखरामा सुरु भइसकेको छ । नेपालले यसै महिना अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्दैछ ।

यद्दपी बसन्त बन्द प्रशिक्षणमा जाने निश्चित भइनसकेको बताए । ‘ यति बेला श्रीमति र छोरीलाई समय दिनुपर्छ,’ उनले भने,‘ प्रशिक्षणमा सामेल हुने नहुने अहिले टुंगो छैन ।’

वसन्तले इनरुवामा जारी एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफबाट खेलेका थिए । उनले २ खेलमा ७ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेपनि एपीएफले समूह चरण पार गर्न सकेन । उनले त्यसअघि पोखरामा सम्पन्न पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन वारियार्सको जर्सी पहिरिएका थिए । उनी केहि सातापछि हुने एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियार्सको टोलीमा रहनेछन् ।

प्रकाशित : बिहिबार, माघ ०२, २०७६१३:४२

न बार्सिलोना, न रियल म्याड्रिड : आश्चर्यजनक हुन सक्छ नेयमारको यो निर्णय !