आजबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य शुरु, मुख्यमन्त्री शाहीले गरे उद्घाटन

सुर्खेत, ६ माघ : यातायात व्यवस्था कार्यालयले आजबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य शुभारम्भ गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीच अन गरेर स्मार्ट सवारी चालक अनुमतिपत्र शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले चालक अनुमति पत्र व्यक्तिको दक्षताका आधारमा मात्र प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । “यातायात क्षेत्र अति संवेदनशिल जगत हो, उदार भएर सवारी अनुमतिपत्र दिने काम कर्मचारीले नगर्नुस्”, उहाँले भन्नुभयो, “यसका लागि कसैले माथिल्लो तहबाट पनि दबाब दिने काम नगरौँं ।”

उदार भएर अनुमतिपत्र दिने र दबाब दिने तथा लिनेलाई कारवाही गर्ने उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “कर्णालीमा भौगोलिक जटिलता धेरै भएकाले सानो कमजोरीले पनि ठूलो जनधनको क्षति हुने सम्भावना छ, यसमा सबैले ध्यान दिन जरुरी छ ।” यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि कानून निर्माण गरिने मुख्यमन्त्री शाहीले बताउनुभयो ।

अहिले डोजर पुगेका ठाउँमा गाडी लैजाने काम रोक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो क्षेत्रमा कसैको जीवनसँग खेलवाड नहुनेगरी सडकको मापदण्ड हेरेर मात्र सवारी सञ्चालन अनुमति दिन्छौं ।” अहिलेसम्म यातायात व्यवस्था कार्यालयमा सबैभन्दा बढी अनियमितता भएको भन्दै उहाँले यातायात क्षेत्र अख्तियारको निगरानीमा रहेको उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साहले कर्णालीवासीले नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले यातायात व्यवस्थापनका लागि प्रदेश सरकारले ऐन तथा कार्यविधि बनाएर कार्यान्वयनमा लैजान सुझाउनुभयो ।

यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख आनन्द चौलागाईंले एकाई कार्यालयबाट शुरु गरिएको कार्यालय गत असोज ६ गतेदेखि सेवा कार्यालयबाट व्यवस्था कार्यालयमा रुपान्तरण भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा रु नौ करोड ७१ लाख राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयले चालु आवको पुससम्म रु छ करोड ४६ लाख राजश्व सङ्कलन गरेको छ ।

प्रकाशित : सोमबार, माघ ०६, २०७६११:४०

आस्था विनाकारण नै रिसाइन त? भन्दै प्रमोदले लेखे यस्तो चिन्तित स्टाटस!