सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट, १० दिनपछि भारतबाट हिँड्ने

काठमाडौँ, ६ माघ: धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ । भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ ।

यहाँ आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढिरहेको उहाँको भनाइ छ । केही समय पहिले नै रेलमार्ग सम्पन्न भएको थियो ।

सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनी मार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको छ । सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । दुईवटा सेट खरीद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्काे आइपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सेट आइपछि नै सञ्चालनको तयारी हुनेछ ।”

सरकारले अहिले दुई वटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उहाँले बताउनुभयो । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उहाँले बताउनुभयो । यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

प्रकाशित : सोमबार, माघ ०६, २०७६१२:२९

पूर्वप्रमुख राईको पाटन अस्पतालमा निधन!