एजेन्सी – फ्रेन्च तथा बार्सिलोना फरवार्ड एन्टोइन ग्रिजमनले मेस्सीसँगै रहेर इतिहाँस बनाउने इच्छा जाहेर गरेका छन्।
‘ला-लिगा’ले लिएको एक अन्तर्वार्ताको क्रममा फरवार्ड ग्रिजमनले मेस्सी विश्वकै शक्तिशाली खेलाडी रहेको उल्लेख गर्दै उनीसँगै रहेर इतिहाँस बनाउने बताए।
ग्रिजमन लियोनेल मेस्सीलाई विश्वकी उत्कृष्ट तथा शक्तिशाली खेलाडी मान्छन्। मेस्सीसँगै रहेर खेल्न पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको उक्त अन्तर्वार्तामा उनले सुनाए।
“लियो विश्वकै शक्तिशाली खेलाडी हुन्। पिचमा उनीसँगै हुन पाउनु मेरालागि उत्कृष्ट अनुभव हो। म मेस्सीको चाल बुझेर खेलमा कदमहरु चाल्ने गर्छु। खेलका क्रममा मेस्सीलाई बुज्ने र उनको कदमलाई सघाउने मेरो कोशिस रहन्छ।”,ग्रिजमनले भने।
मेस्सीसँगै पिचमा रहनुले आफूलाई धेरै कुरा सिकाएको पनि उनको अनुभव छ। मेस्सीको खेलशैली, कार्यनीतिलाई अवलम्बन गरेर आफूलाई सुधार्ने तर्फ आफ्नो ध्यान हुने गरेको पनि उनले सुनाए।
विश्वकै उत्कृष्ट क्लब बार्सिलोनामा हुनु आफैंमा चुनौती रहेको ग्रिजमनको भनाई छ। बार्सिलोनामा रहनु आफ्नो लागि गर्वको पनि कुरा रहेको उनले बताए।
“बार्सिलोनामा रहनु मेरा लागि गर्वको कुरा हो। बार्सिलोनामा धेरै खुसि छु। बार्सिलोनामा मैले खेलेको देखेर मेरा पिता पनि मख्ख हुनुहुन्छ। क्लबमा रहेर इतिहाँस बनाउनु छ। यसको लागि हरेक खेलमा मैले सुधार गर्नुपर्ने हुन्छ। खेल सुधार्ने विषयमा जहिले पनि मेरो ध्यान हुन्छ।”,अन्तर्वार्तामा उनले सुनाए।
बार्सिलोनाका लागि खेलेका पछिल्ला ११ खेलमा ग्रिजमनले ७ गोल गरिसकेका छन्। अर्का फरवार्ड लुइस सुआरेज चोटका कारण मैदान बाहिर रहेको अवस्थामा ग्रिजमनको भूमिका क्लबमा महत्वपूर्ण रहने अनुमान गरिएको छ।