काठमाडौँ – नायिका रेखा थापाले आवाज उठाएकै भरमा गायिका आस्था राउतलाई हिरासतमा लिएको प्रति असन्तुष्टि जनाएकी छन्।
मंगलबार आस्था राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भेट्न पुगेकी थापाले आवाज उठाएकै आस्था राउतलाई सजायँ दिइनु न्यायोचित नहुने बताइन्। आवाज उठाएकै भरमा थुन्दै जाने हो भने माइतीघर मण्डलामा आवाज उठाउनेहरु पनि हिरासतमा हुने उनको तर्क छ।
“उ सेलिब्रिटी हो भन्ने कुरा बिर्सिने हो भने त, आवाज नै उठाउनेहरु मण्डला माइतीघरमा कती हुन्छन् नि । के अब सबैलाई बोलेकै भरमा लगेर थुनिदिने हो त ?”,प्रश्न गर्दै रेखाले भनिन्।
गायिका आस्था राउत प्रकरणमा गायिका र प्रहरी जवान दुवै महिला रहेको हुनाले यस घटनालाई मनोरन्जनको विषय बनाइएको उनले आरोप छ।
विमानस्थलमै पारसले प्रहरी अधिकारीलाई दुर्व्यवहार गर्दा कुनै काण्ड नमच्चिएपनि आस्था राउत प्रकरणमा भने दुवै महिला रहेको हुँदा घटनालाई चाहिने भन्दा बढी महत्व दिइएको उनले बताइन्।
“विमानस्थलमै पारसले झापड हान्दा यत्तिको फण्डा कसैले मच्चाएन, किनभने दुबै पुरुष थिए । तर, आस्थाको केशमा दुबै महिला भएका यसमा बढी चर्चा परिचर्चा भएको हो । दुबैलाई मनोरञ्जनको पात्र बनाइयो।”,उनले भनिन्।
भेटको क्रममा आस्थाले आफूबाट गल्ती भएको र यस घटनाबाट पाठ सिकेको बताएको पनि रेखाले सुनाइन्। रेकाका अनुसार भेटका क्रममा आस्थाको आत्मविश्वासमा कमी देखिएको छैन।
“उनले मसँगको भेटमा आवेगमा आएर बोल्दा गल्ती भएको बताइन् । एकदमै चित्त दुखेकाले आवेगमा आएर बोल्दा गल्ती भएको आस्थाले स्विकार गरेकी छिन् ।”,रेखाले भनिन्।
सोमबार बिहान अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर आत्मसमर्पण गरेकी गायिका आस्था राउत अस्पताल भर्ना भएकी छन्। उनि सोमबार साँझ नै अस्पताल भर्ना भएकी हुन् । हाइपर टेन्सनका कारण समस्या भएपछि त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा आस्थाको उपचार भैरहेको छ।