लहान – गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।
भ्रमण वर्षमा होटल र रेष्टुराँमा स्टिकर टाँस्ने अभियान
सिरहा र सप्तरीका होटल तथा रेष्टुराँको खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, न्यायिक उपभोक्ता मञ्चलगायतका कार्यालय र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको रोहवरमा स्टिकर टाँस्ने अभियान थालिएको हो । ।
राजविराजस्थित १७ वटा होटल र रेष्टुराँको अनुगमनपश्चात् स्तरीकरणको स्टिकर टाँस गरिएको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।
ती होटल र रेष्टुराँका सञ्चालकलाई खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालीमसमेत प्रदान गरिएको थियो । विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकोमा ९० भन्दा बढी अङ्क ल्याउने होटल र रेष्टुराँलाई अति उत्तम तथा ८० देखि ९० सम्म अङ्क ल्याउनेलाई उत्तम श्रेणीमा राखी स्टिकर टाँसिएको छ । त्यस्तै ६५ देखि ७९ सम्म लाई सन्तोषजनक र ५० देखि ६४ सम्म अङ्क ल्याउने होटल रेष्टुराँमा सामान्य लेखिएको स्टिकर टाँस गरिएको छ ।
सामान्य स्टिकर पाएकाले छ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कारवाही प्रक्रिया अघि बढाइने निर्णय भएको प्रमुख सिंहले जानकारी दिए ।