काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य रेनु दाहालले देशको शासकीय स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको चौंथो दिन समूहगत छलफलका क्रममा दाहालले यस्तो विचार प्रस्तुत गरेकी हुन्।
देशमा उचित शासकीय स्वरूप सहित ढङ्गबाट लागू नभएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा पार्टी जानुपर्ने दाहालले माग गरिन्।
तत्कालीन माओवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा अगाडी सारेको भएता पनि संविधान निर्माणका क्रममा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा त्यागेको थियो।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले कुनै समयमा बोकेको एजेन्डा छोरी रेनु दाहालले केन्द्रीय कमिटीको पूर्ण बैठकमा ब्यूताएकी छन्।
रेनु सम्मिलित १२ नम्बर समूहको टोलीका ४ नम्बरका नेता जगन्नाथ खतिवडा र ३ नम्बर समूह नेता खिमलाल भट्टराई पनि राजनीतिक प्रतिवेदन बारे आफ्नो धारणा प्रस्तुर गरेका छन्।
शनिवार बिहान ११ बजेदेखि शुरू भएको बैठकमा जगन्नाथ खतिवडाले जनवादी केन्द्रीयता सही ढंगले लागू नहुँदा समाजवादको आधार तयार हुन नसकेको धारणा राखे।
यता खिमलाल भट्टराईले पार्टीको गुटबन्दी शीर्ष नेताबाटै भइरहेको भन्दै आक्रोश पोखे।