नेकपामा ब्युँतिएको बहसमा बाबुरामको समर्थन: “प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली सबै रोगको उपचार”

काठमाडौँ – पार्टीको एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा तय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ।

एकतापछि कार्यसूचीसहित विस्तृतरुपमा आयोजना गरिएको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव परिमार्जनसहित सर्वसम्मतरुपमा पारित पनि गरेको छ ।

यही माघ १५ गतेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित बैठकमा एमसीसी, नेपाली भूमि रक्षा, भ्रष्टाचार न्यूनीकरण, देशको शासकीय स्वरूप परिवर्तन लगायतका विषयहरुमा बहस भयो।

केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले विशेषतः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थालाई ब्युँताएको छ। बैठकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको शासकीय प्रणाली बारे गहन छलफल भएको नेकपाका नेताहरुले बताएका छन्।

यसै बीच समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले नेकपा भित्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था बारेको छलफल ब्युँतिए विषयलाई सकारात्मक रुपमा लिएका छन्।

सामाजिक संजाल ट्वीटर मार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री बारे नेकपामा बहस सुरु भएको प्रति भट्टराईले सकारात्मक प्रतिक्रिया जनाएका हुन्।

खर्चिलो चुनाव,भ्रष्टाचार,आसेपासे पुँजीवाद,कमिसनखोरी,सांसदपद किनबेच,अस्थीरता लगायत सम्पूर्ण समस्याको उपचार प्रत्यक्ष निर्वाचित राष्ट्रपति/प्रम प्रणाली हुने भट्टराईको दावी छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति/प्रम प्रणालीमा राष्ट्रिय सहमति गर्न जरुरत हुने उनको भनाई छ।

“सबै रोगको एउटै उपचार भनेझैं देशमा अहिले देखिएका खर्चिलो चुनाव,भ्रष्टाचार,आसेपासे पुँजीवाद,कमिसनखोरी,सांसदपद किनबेच,अस्थीरताको खतरा,ग़ैरज़िम्मेदार कर्मचारीतन्त्र,दलीय सिन्डिकेट आदि प्रमुख रोगको उपचार प्रत्यक्ष निर्वाचित राष्ट्रपति/प्रम प्रणाली नै हो!यसमा राष्ट्रिय सहमति गरौं!नत्र”,भट्टराईले ट्वीटरमा लेखेका छन्।

प्रकाशित : सोमबार, माघ २०, २०७६०४:३४

कोरोना भाइरस : लापरवाहीले काठमाडौँनै छाडेर भाग्नु पर्ने स्थिति आउन सक्ने खतरा !