काठमाडौँ, माघ २० । निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघ यता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २ सय रहेको छ ।
स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ५ सयले बढेको थियो । गत आइतबार पनि छापावाला सुनको ७६ हजार ५ सय र तेजावी सुनको मुल्य ७६ हजार २ सय रुपैयामा कारोबार भइरहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्यमा प्रतितोला रु ५ ले गिरावट आएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ८ सय ९० पुगेको छ ।
खपत ओरालो
पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनाव केही मत्थर भए पनि निष्कर्षमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।
सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ओरालो लाग्न थालेको छ । महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।