पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिनुभएको छ । उहाँको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ । “गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे छ”, घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानअनुसार ह’त्या नै भएको पुष्टि हुन्छ, तर कसले किन ह’त्या गरेको भन्ने कुरा खुल्न सकेको छैन, हामी अनुसन्धानमै छौँ ।”
उहाँका अनुसार घटनाका बारेमा प्रहरीलाई आज बिहान साढे ६ बजे जानकारी प्राप्त भएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेको छ । अनुसन्धानमा आफ्नो संयन्त्र परिचालन गरिसकिएको र धनगढीबाट तालीमप्राप्त कुकुरसहितको टोली आइरहेको उहाँले जानकारी दिनुभयो । मृतक धामी शिक्षक पेशाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
घोरसाइने गाउँ सडक शिलान्यास
चाँगुनारायण नगरपालिका–८ स्थित घोरसाइने गाउँ सडकको शिलान्यास गरिएको छ । सङ्घीय सरकारको रु चार करोडको लागतमा निर्माण हुने सो सडक आठ मिटर चौडा हुने छ । सडकको निर्माण, स्तरोन्नति तथा कालोपत्र गर्ने कार्यको प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले सोमबार शिलान्यास गर्नुभयो ।
केन्द्रीय सरकारबाट पछिल्लो समय चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पाँच–पाँच वटा सडकलाई रु दुई–दुई करोडका दरले बजेट विनियोजन गरिएको जानकारी दिँदै उहाँले सुडालमा मात्रै रु ३२ करोड बजेटमा सडक निर्माण तथा विस्तार शुरु गरिएको बताउनुभयो ।
त्यस्तै रु एक करोडको लागतमा चाँगु फास्टट्र्याक खहरेबाट चाँगुको वीर अस्पताल जाने १५ मिटरको सडक अर्थ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरी रु ५० करोडभन्दा बढीको लागतमा निर्माण प्रक्रिया अघि बढाइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भक्तपुरका अध्यक्ष वचन देउजा, वडा नं ८ का वडाध्यक्ष परासर सापकोटा, सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख विष्णुप्रसाद काफ्लेलगायतले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो ।