कोरोनाको त्रास विश्वभर: हङकङमा पनि एकको ज्यान गयो, चीनमा ज्यान गुमाउनेको संख्या ४२५ पुग्यो

हङकङ – विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको ज्यान गएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नु भएको छ ।

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३ औं व्यक्ति थिए ।  उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै मङ्गलबार बिहान ज्यान गएको हो ।

हङकङको व्याम्पो गार्डेनमा बसोवास गर्दै आएका ती व्यक्ति गत जनवरी २१ मा हङकङबाट उहान र जनवरी २३ मा हङकङ फर्किएका थिए ।

मङ्गलबारसम्म चीनमा यस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४२५ पुगिसकेको समाचार संस्था एएफपीले जनाएको छ । यस भाररसबाट सङ्क्रमण भएका २ हजार १४३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भाइरस सङ्क्रमण ३९६ जनालाई अस्पतालबाट घर फर्काइएको छ ।

हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । उनले चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको बताएका छन् ।

यता चीनको केन्द्र सरकारले पनि उहानलगायतका धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधनहरु बन्द गरेको छ ।यस अघि फिलिपिन्समा पनि आइतबार एक जनाको ज्यान गएको थियो । उनी पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ती चिनियाँ नागरिकको ज्यान गएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको ज्यान गएको यो पहिलो घटना हो,” डब्लुएचओको भनाई छ ।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६०८:३७

संसदमा कोरोना : चीनमा रहेका नेपालीलाई राख्न संसद भवन खाली गरौं !