काठमाडौं – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँग नेपाल पराजित भएको छ । घरेलु मैदानमा नेपाल बुधबार ओमानसँग १८ रनले पराजित भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । शरद भेषवाकरले सर्वाधिक ५५ रनको योगदान दिए ।
४४ औं ओभरको पहिलो बलमा अकीब इलियासले बोल्ड आउट गर्नुअघि शरदले १ सय ८ बलमा ५ चौका प्रहार गरे । शरदले ९६ बलमा अर्ध शतक पुरा गरेका थिए । योसँगै शरद घरेलु मैदानमा ओडीआईमा अर्ध शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । शरदको यो पहिलो ओडीआई करिअरको पहिलो अर्ध शतक पनि हो । खेललाई सन्दीप लामिछानेले रोमान्चक बनाए ।
सन्दीप र शरदले आठौं विकेटका ३८ लागि रनको साझेदारी गर्दै जितको आशा बढाएका थिए । तर शरद आउट भएसँगै नेपालको जित टाढिएको थियो । सन्दीपले २७ बलमा ३ चौका र १ छक्का सहित २८ रनमा क्याच आउट भए । ४५ औं ओभरको पहिलो बलमा मकसुदले सन्दीपलाई फस्ट सिलिपमा रहेका खावर अलीबाट उत्कृष्ट क्याच गराएसँगै नेपालको जितको आशा सकिएको थियो ।
सुरुवाती चार रनमा दुबै प्रमुख ब्याट्सम्यान तथा ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उप कप्तान दीपेन्द्र सिंह ऐरी र शरदले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । नेपालको ओडीआईमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । दीपेन्द्रलाई २० औं ओभरको तेस्रो बलमा मोहम्मद नदीमले ३६ रनमा एलबिडब्लू आउट गरेपछि पुन दबाबमा परेको थियो ।
दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कलीमुल्लाहको चौथो ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा कप्तान ज्ञानेन्द्र १ रनमा मोहम्मद नदीमबाट क्याच हुँदै पेभिलिएन फर्के । त्यस्तै बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस सट खेल्नेक्रममा एज लाग्दै विकेटकिपर सुरज कुमारबाट ३ रनमा क्याच आउट भए ।
२४ औं ओभरको पहिलो बलमा आरिफ शेख ६ रनमा जिशान मकसुदको कट एण्ड बोल्ड आउटको शिकार बने । लगत्तै दोस्रो बलमा रोहित कुमार पौडेल दोस्रो सिलिपमा रहेका खावर अलीबाट शून्यमा क्याच आउट भएपछि नेपालमा संकटमा परेको थियो । छैटौं विकेटका लागि विनोद भण्डारी र शरदले ४३ रनको साझेदारी गर्दै केहि आशा दिलाएका थिए । तर ३४ औं ओभरको पहिलो बलमा विनोदलाई अलीले सन्दीप गौडबाट २६ रनमा क्याच गराए ।
विनोद भण्डारीले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । करणले खाता खोल्न सकेनन् । अभिनाश बोहरा र सुशन भारीले ८-८ रन जोडे । ओमानका जिशान मकसुदले १० ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए । कलीमुल्लाह र बिलाल खानले २-२ विकेट लिए । मोहम्मद नदीम, खावर अली र अकीब इलियासको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । मोहम्मद नदीमले ६९ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेका थिए । नदीमले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । करणले अन्तिम ओभरमा २ छक्का सहित १७ रन खर्चेका थिए । बिलाल खान ८ रनमा अविजित रहे ।
नेपालले अन्तिम १० ओभरमा ७६ रन खर्चिएको थियो । नसिम खुशीले तल्लोक्रममा १८ बलमा २ चौका र २ छक्का सहित महत्वपूर्ण २८ रन जोडे । करणले शरद भेषवाकरबाट खुशीलाई क्याच गराएका थिए । खुसी र नदमीले आठौं विकेटका लागि आक्रामक ४२ रनको साझेदारी गरेका थिए ।
करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । करणलेनै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए । १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा रन आउट गराएका थिए । अकीबले ३४ बलमा २ चौका प्रहार गरे ।
१९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलबीडब्यू आउट गरे । सुशनको अपिलमा एम्पारले आउट दिएका थिए । उनले ४० बलमा ४ चौका प्रहार गरे । एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई कप्तान ज्ञानेन्द्र मल्लबाट शून्यमा क्याच गराएपछि ओमान ५७-५ को संकट अवस्थामा पुगेको थियो ।
खराव सुरुवात गरेको ओमानलाई छैटौं विकेटका लागि सन्दीप गौड र मोहम्मद नदीमले ६० रनको साझेदारी गर्दै सुरुवाती दबाब केहि कम गरेका थिए । यी दुईबीचको साझेदारी सुशनलेनै गौडलाई विकेटकिपर विनोद भण्डारीबाट ३३ रनमा स्टम्पिङ आउट गराउँदै तोडेका थिए । गौडले ७२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यसअघि ३५ औं ओभरको तेस्रो बलमा ठूला सट खेलेका गौड बाउन्डीमा पारस खड्काले क्याच लिएपनि बाहिर पुग्दा छक्का हुँदै जीवनदान पाएका थिए । दीपेन्द्रको ४२ औं ओभरको चौथो बलमा सट खेल्ने क्रममा बादल सिंह रोहित कुमार पौडेलबाट ५ रनमा क्याच हुन पुगे । करणले कामिदुल्लाहलाई १ रनमा आउट गरे ।
तीब्र गतिका बलर करणले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिए । ओडीआईमा डेब्यू खेलमा स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन राख्दै १४ मात्रै रन ३ विकेट लिए । दीपेन्द्रको नाममा १ विकेट रह्यो । ओडीआई डेब्यू खल खेलेका अभिनाश बोहराले ९ ओभरमा २ मेडन सहित ३८ रन खर्चिए पनि विकेट लिन सकेनन् । नेपालले अव शनिवार अमेरिकासँग खेल्ने छ ।